नेपाली कलाकारहरूको विदेश मोह दिनप्रतिदिन बढ्दो छ । नेपाली फिल्म क्षेत्रमा सुनौलो भविष्य नदेखेपछि अमेरिका लगायतका देशको सुनौलो भविष्यले उनिहरूलाई आकर्षित गरिरहेको छ । दुई दर्जनभन्दा बढि चलेका फिल्मकर्मी यतिबेला अमेरिकामा छन् ।
अभिनेत्रीहरू अरुणिमा लम्साल, नन्दिता केसी, उषा पौडेल, ऋचा घिमिरे, यूना उप्रेती, रञ्जना शर्मा, जल शाह, पूजा चन्दलगायत धेरै यति बेला अमेरिकामा छन् ।
यता अभिनेताहरू निरज बराल, सुवास थापा, मुकेश ढकाल, राजबल्लभ कोइराला, दिलिप रायमाझीलाई पनि अमेरिकाले तान्यो । सुरेश दर्पण पोख्रेल, श्याम भट्टराई लगायतका निर्देशकहरुलाई पनि अमेरिकाको मोहले छोडेन । अभिनेता सरोज खनाल भने जवानीमा अमेरिका बसेर बुढेसकालमा नेपाली प्रेम दर्शाउँदै फर्किए ।
यि बाहेक थुप्रै कलाकार तथा फिल्मकर्मी अमेरिकामा छन् । कति स्थायी रूपमा अमेरिका बस्ने योजनामा छन् भने कति फर्कने योजनामा छन् ।
अमेरिकाको ग्रीनकार्ड छोडेर नेपाली फिल्म क्षेत्रमा भविष्य खोज्ने कलाकार पनि नभएका होइनन् । अभिनेत्री प्रियंका कार्की यसको ज्वलन्त उदाहरण हुन् । यस्तै अभिनेत्री करिष्मा मानन्धर र गौरी मल्ल पनि अमेरिका छाडेर नेपाल फर्कनेमा पर्छन् ।
प्रियंका जस्ता कलाकार भने कमै छन् जो अमेरिकाको मोह त्यागेर नेपाली फिल्म क्षेत्रमा संघर्ष गर्न चाहन्छन् ।
कलाकारहरु चलचित्रको पर्दामा नदेखुन्जेल निकै ठूला-ठूला सपना देख्छन् तर जब पर्दा भित्रको वास्तविकता र दर्दनाक अबस्था पाउँछन् तब उनीहरुलाई विदेश मोहले छपक्कै ढाक्न थाल्छ । केही समय नेपाली चलचित्रमा काम गरेर त्यसैलाई हतियार बनाउँदै विदेश पलायन हुनेहरुको भिड पनि अहिले ठूलै छ । अझ भनौ अमेरिका जानका लागि नेपाली कलाकारहरु ठूलै संधर्ष गर्ने गर्छन । नेपालमा आफुले पाएको प्रतिष्ठा भजाएर विदेश पलायन हुनेको लर्कोमा अझै एक दर्जन बढी नेपाली कलाकारहरु लाइनमै छन्, जो चाँडै विदेश पलायन हुँदैछन् । चलचित्रको पर्दामा देखिएपछि राजदुताबासले केही सहज रुपमा भिषा दिने भएका कारण कलाकारहरुलाई विदेश मोहले छोएको हो भन्दा गलत नहोला । केही त नक्कली कलाकार बनेर समेत विदेश पलायन भइरहेका छन्, जसले गर्दा प्रतिभा भएका कलाकारहरु आफ्नो प्रतिभा देखाउन विदेशी भूमीमा समेत जान पाउँदैनन् ।
त्यसलाई स्पष्ट रंगकर्मी सरिता गिरीको फेसबुक स्टाटसले पार्छ । उनले हिजो मात्र एक स्टाटस पोष्ट गरेकी छिन्, जसमा यो कुरा स्पष्ट हुन्छ कि अहिले राजदुताबासहरुले नेपाली कलाकारहरुलाई भेडा बाख्रा मान्न थालेको छ । उनले फेसबुकमा एक स्टाटस पोष्ट गर्दै लेखेकी छिन्, ‘अब त कुनै पनि राजदुताबास जान पनि डर लाग्ने भो गाँठे, नेपाली कलाकार भन्ने बित्तिकै भिषा सेक्सनमा नाक खुम्च्याउँछन् । कलाकारहरु त देशकै गहना हुन भन्ने सुनेको थिएँ तर कलाकारहरूलाई त भेडा बाख्रा जसरी निर्यात पो गर्न थालेछन् । ए गाँठे ति भेडा बाख्रामा हामीलाई पनि पो राखेछ यो राजदुताबासले। कमसे कम नक्कली हो कि सक्कली हो भनेर छुटाउने कुनै मापदण्ड छैन् भनेको यो राजदुताबाससँग ?’उनलाई नक्कली कलाकारको शंकाको दृष्टिले हेर्दा प्रवेशाज्ञा दिन अस्वीकार गरेको त होइन ? उनको स्टाटस पढ्दा त्यस्तै भान हुन्छ । अहिले राजदुताबासहरु नै दोधारमा पार्ने गरेको देखिन्छ कि कुन नक्कली कलाकार हुन् र कुन सक्कली कलाकार हुन् । नक्कली कलाकार पनि भिषा पाएर विदेश पलायन भइरहेको अबस्थामा सक्कली कलाकारले भने आफ्नो प्रतिभा विदेशी भूमीमा प्रस्तुत गर्न भिषा पाएका छैनन् । दैनिक विभिन्न सम्पन्न मुलुक जानका लागि नेपाली कलाकारहरुले गर्ने भिषा सक्रियाले पनि राजदुताबास यति बेला अचम्ममा पर्ने गरेको छ । जसले गर्दा राजदुताबासलाई नेपाली कलाकारहरु भेडा बाख्रा सरह लाग्न थाल्नु अस्वभाविक पनि होइन् ।