पहिलो चलचित्र ‘पिँजडा’ का लागी नौं तलाबाट हाम फालेर एक्शन नायकको रुपमा आफ्नो छबि बनाएका नायक निखिल उप्रेती सोही चलचित्रको दोस्रो भागमा पनि दोहोरिने भएका छन् । चलचित्रको नाम हुनेछ ‘पिँजडा ब्याक एगेन’ । चलचित्रलाई द्धन्द्ध निर्देशक हिमाल केसीले निर्देशन गर्दैछन् । यतिबेला यो चलचित्रको लोकेशन हन्टिङ कार्य भैरहेको छ । चलचित्रको लागी नायिका पनि फाइनल भएको छ । चलचित्रमा नायिका अशिष्मा नकर्मीले निखिलसँग रोमान्स गर्ने पक्का भइसकेको हिमाल केसीले जानकारी दिए । अशिष्मा नायक निखिल उप्रेतीसँग तेश्रो पटक स्क्रिन सेयर गर्दैछिन् । अशिष्माले निखिलसँग चलचित्रहरु ‘संरक्षण’ र ‘राधे’ पछि ‘पिंजडा २’ मा सँगै काम गर्न लागेकी हुन् । हिमालका अनुसार चलचित्रका लागि अझै एक लीड हिरोइनको खोजी भइरहेको छ । माघको अन्तिमबाट छायांकनमा जाने यो चलचित्र एक्सनका साथै पारिवारिक कथामा तयार हुनेछ ।
चलचित्रमा सौरभ लामाको छायांकन रहनेछ । राजनराज सिवाकोटी, अर्जुन पोखरेल, बसन्त सापकोटा र महेश खड्का चलचित्रका संगीतकार हुन् ।