गएको भदौ २१ गते देशव्यापी प्रदर्शनमा आएको चलचित्र ‘छक्का पन्जा’ ले आजबाट ५१ औं दिन मनाएको छ । मल्टिप्लेक्स र सिंगल हलहरुमा अझै पनि प्रदर्शन भइरहेको चलचित्र ‘छक्का पन्जा’ यूनिटले आज विहान पशुपतिनाथ मन्दिरमा झण्डै १ घण्टा पुजा गर्दै ५१ औं दिनको सफलताको खुसी साटेको छ । निर्देशक दीपाश्री निरौलाको साथमा कलाकार तथा निर्माता दीपकराज गिरी, प्रियंका कार्की, नम्रता सापकोटा, बर्षा राउत लगायतको टीम मन्दिर पुगेका थिए । त्यस्तै चलचित्र ‘छक्का पन्जा’ का कलाकार, निर्देशक, निर्माता लगायत निर्माण टीमले राजधानीका विभिन्न हलहरुमा पुगेर हल सञ्चालक देखी दर्शकहरुलाई धन्यवाद पनि दिएका छन् । पशुपति परिसरबाट ब्यान्ड बाजा बजाउँदै उनीहरु विभिन्न हलमा पुगिरहेका छन् । दीपाश्री निर्देशित पहिलो चलचित्र ‘छक्का पन्जा’ ले हालसम्ममा १५ करोडमाथीको विजनेश गरिसकेको वितरकले बताएका छन् । यो व्यापार नेपाली चलचित्र इतिहासमा नै सबैभन्दा उच्च रहेको बताइएको छ ।