नायक दयाहाङ राई यूवापुस्ताका चर्चित नायक हुन् । नेपालको भोजपुर खावा भन्ने ठाउँमा जन्मिएका नायक दयाहाङ राईलाई नचिन्ने अहिले सायदै होलान र उनको अभिनयको तारिफ नगर्ने पनि । रंगमन्च हुँदै चलचित्रको पर्दामा उदाएका दयाहाङ राई अहिलेका सफल र व्यस्त नायक हुन् । २००६ बाट नेपाली चलचित्रमा अभिनय यात्राको थालनी गरेका दयाहाङ राईले अहिलेको अवधीसम्म दुई दर्जन बढी चलचित्रमा काम गरिसकेका छन् भने उनका एकाध चलचित्र बाहेक धेरै चलचित्रहरु सफल छन् । उनै नायक दयाहाङ राईसँग ‘सिनेखबर डटकम’ सहकर्मी मनिष अन्जानले गर्नुभएको कुराकानी :-
१. अहिले के मा व्यस्त हुनुहुन्छ ?
केही दिन अगाडी मात्र चलचित्र घामपानीको छायाँकन सकाए । अब मंसीर १० गतेबाट रिलिज हुन लागेको चलचित्र पुरानो डुङ्गाको प्रमोशनमा व्यस्त हुँदैछु । केही दिन भित्रै देश दौडाहामा निस्कदै छौ ।
२. तपाईले पहिलो पटक नाायिका केकी अधिकारीसँग चलचित्र घामपानीमा काम गर्नु भयो । तपाईलाई बढी जसो पर्दामा प्रियंका कार्कीसँग रुचाइएको छ । कस्तो रह्यो केकी अधिकारीसँग काम गर्दाको अनुभव ?
केकी मेरो मिल्ने साथी हो । एकअर्कामा स्वार्थ भएन भने कहिले पनि काम गर्न अप्ठ्यारो हुँदैन । किनकी हामी कामका लागी स्वार्थ लिन्छौ । ऊ सँग गर्दा मलाई सजिलो हुन्छ अथवा उसले गर्दा मलाई सजिलो हुन्छ भन्ने स्वार्थले काम गरिन्न्, कामका लागी विशेष हेरिने गरिन्छ । त्यसैले त्यस्तो अप्ठ्यारो हुँदैन ।
३. तपाईको यस बर्ष लगातार चलचित्रहरु रिलिज भएका छन् । गएको महिना मात्र तपाई अभिनित चलचित्र झुम्की रिलिज भएको थियो । समिक्षकहरुले राम्रै प्रतिक्रिया दिएपनि चलचित्र व्यबसायिक रुपमा असफल भयो । तपाईलाई चाहिँ झुम्की के कारणले असफल भयो जस्तो लाग्छ ?
मुख्य कुरा त व्यबसायिक रुपमा असफल हुनुको पछाडी धेरै कुरा हुन्छन् जस्तो लाग्छ । मुख्य कारण चाहिँ त्यसको प्रचार प्रसार हो । जहाँ दर्शकहरुको कानसम्म पुग्दैन तबसम्म चलचित्रको प्रचार राम्रो भएको मानिदैन र यस कारणले पनि चलचित्र असफल हुने गर्छ । अब तिनै केही कुराहरुमा कमजोरी भएको हुन सक्छ झुम्की व्यबसायिक रुपमा असफल हुनुमा ।
४. गएको महिना मात्र तपाईले लुट २ को छायाँकन सकाउनु भयो । यसअघि तपाईले लुटमा काम गर्नु भएको थियो । लुट देखी लुट २ सम्म आइपुग्दा दयाहाङ राईमा चाहिँ के परिवर्तन आएछ ?
लुट गर्दा म अभिनयको विद्यार्थी थिएँ । त्यति बेला म अभिनय सिकिरहेको थिएँ र अहिले पनि सिकिरहेको छु । त्यति बेला म अभिनयको पक्का विद्यार्थी थिएँ भने अहिले म व्यबसायिक अभिनेता भएको छु ।
५. पुरानो डुङ्गा कस्तो चलचित्र ?
पुरानो डुङ्गा दाजु भाईको सम्बन्धको कथा हो । जहाँ दाजुको सोच र भाईको सोचको बीचको द्धन्द्ध हो ।
६. ट्रेलर हेर्दा दयाहाङ राई दाईसँग झगडा गरिरहेको देख्न सकिन्छ । कतै खलनायकको भुमिकामा त हुनुहुन्न ?
मलाई लाग्छ अधिकांश दाईहरु भाईहरुसँग त्यसरी नै झगडा गर्छौ होला । त्यो भिलेन नै त हुँदैन होला ।
७. पुरानो डुङ्गामा तपाईको र प्रियंकाको केमेष्ट्री कस्तो छ ?
दुईटा सोच र उनीहरुका बाध्यता, जिवनशैली फरक तरिकाले चलिरहेको छ । एउटा अनौठो तरिकाले उनीहरुको भेट हुन्छ । त्यसपछाडी उनीहरुको सम्बन्ध अगाडी बढ्ने हो ।