समग्र विश्व यति बेला लक्ष्मी अर्थात पैसाको पछाडी दौडिरहेको छ । मानिसका लागि जसरी मृत्यू अन्तिम सत्य हो, त्यसरी नै पैसा कमाउनु पनि अन्तिम सत्य सावित भइसकेको छ । ‘एनी हाउ, पैसा कमाउ’ भन्ने सिद्धान्त बोकेर मानिसहरु पैसा कमाउन दौडिरहेका छन् । मानिसका लागि बाबु-आमा र छोरा-छोरी भन्दा पनि पैसा ठूलो भइसक्यो ।
तर, पैसा कमाउन त्यति सजिलो छैन, पैसा कमाउन इमान्दारी, लगनशिल, कर्तव्यनिष्ठ, मेहेनती समयलाई चिन्न सक्ने, लगानीका क्षेत्र पहिचान गर्न सक्ने, शिक्षित हुनुका साथै भाग्यले पनि साथ दिनुपर्छ । सजिलै पैसा कमाउन सकिने भए आज संसारका सबै मानिस धनी बन्थे होलान् ।
यस्तै एक कथा बोकेर निर्माण भएको नेपाली फिल्म हो ‘जात्रा’ । फिल्मका मुख्य पात्र फणिन्द्र तिमल्सिना (विपीन कार्की), जोयेस (रवीन्द्रसिंह बानियाँ) र मुन्ना ठाकुर (रवीन्द्र झा) ले पैसा कमाउन र लुकाउन गरेको संघर्ष नै फिल्मको मुख्य कथा हो । त्यसलाई पर्दामा उर्तान निर्देशक प्रदीप भट्टराई सफल देखिएका छन् । निकै गम्भीर विषयलाई हास्यात्मक शैलीमा पस्किएको फिल्म जात्राले दर्शकलाई २ घण्टा २६ मिनेट पूरै बाँध्छ । चरित्र, स्थान र पात्र छनोटमा पनि निर्देशक भट्टराई अब्बल देखिएका छन् । यसले गाला दुख्ने गरी हँसाउने मात्र होइन बेलाबेला दिमागमा समेत झट्का दिइरहन्छ।
फिल्मका मुख्य पात्र विपिन कार्की उर्फ फणिन्द्र (पुस्तक पसले) को अभियनमा कहीँ कतै खोट लगाउने ठाउँ छैन । मुन्ना (नाई) बनेका रवीन्द्र झाको अभिनय पनि उत्तिकै अब्बल छ । फिल्ममा उनले बोल्ने प्रत्येक संवादले दर्शकहरुलाई पेट मिचीमिची हँसाउन बाध्य बनाउँछ । कपडा पसले (जोयस) बनेका फिल्मका कार्यकारी निर्माता समेत रहेका रवीन्द्रको भुमिका पनि उतिक्कै सबल छ । त्यस्तै सम्पदा (वर्षा राउत) ले आम गृहिणीको प्रतिनिधत्व गर्दै आफूलाई अब्बल नायिकाको रूपमा प्रस्तुत गरेकी छन् । समग्रमा फिल्म जात्राले प्रत्येक नेपालीको कथा र मर्म बोकेको छ, जसमा घतलाग्दो कमेडीले अझ दर्शकहरु कुर्सीमै मुर्छा परि परि हाँस्छन् । जात्राले चलनचल्तीको सामान्य संवादले पनि दर्शकलाई पेट मिचीमिची हँसाउन सकिन्छ भन्ने उदारहण पेश गरेको छ । फिल्म जात्रा हेरुन्जेल दर्शकहरु कुनै दृश्यमा पनि नहाँसी बस्न सक्दैनन्, जुन फिल्मको सबैभन्दा उत्कृष्ट पक्ष हो ।
फिल्मको एउटा कमजोरी के छ भने दर्शकलाई सोच्ने समय दिइएको छैन । फिल्मका पात्रहरु बोलिरहने भएका कारण दर्शकहरुले एकछिन पनि सोच्ने मौका पाउँदैनन् । यसमा निर्माणपक्षले स्क्रिप्टमा केही छाँटकाट गरेको भए अझै स्वादिलो हुने पक्का थियो ।
नेपालमा बनेका सबै फिल्महरु हेर्नै पर्छ भन्ने छैन तर ‘जात्रा’ राम्रो फिल्म मध्येको एक हो । यदी तपाई नेपाली फिल्मबाट नयाँ स्वाद चाख्न चाहनुहुन्छ भने एकपटक ‘जात्रा’ हेर्ने तपाईको निर्णय सही हुन सक्छ ।