तीनपटक विदेश गएको भन्ने वित्तिकै सबैले विसुनदेवले टन्नै पैसा कमाए अनि धेरै थोक जोडे भन्ने सोच्छन् तर विशुनदेवलाई विदेशले पहिलेको भन्दा पनि नराम्रो अवस्थामा पुर्याइदिएको छ ।
खाने मुख बढ्दै जान थालेपछि गौरीशंकर–८ हाईस्कुल टोलका बिसुनदेव महतोलाई परिवारको न्युनतम आवश्यकता पूरा गर्न हम्बे हम्बे पर्न थाल्यो । गाउँमै बस्न कुनै कामको मेलो भेट्टाउनुभएन । विसुनदेवले रोजगारीको उचित विकल्प देख्नुभयो वैदेशिक रोजगारी । त्यसैले १ लाख १० हजार रुपैयाँ तिरेर जेनेरल बर्करको काममा सन् २०१० मा ओमानतिर लाग्नुभयो । तलब भने ओमानको ७० रुपैयाँ दिन्थ्यो । ओमान पुगेको ८ महिनामा विसुनदेवलाई पत्थरी भयो । कम्पनीले नेपालमा गएर उपचार गरेर आएपछि तलब बढाई दिन्छु भन्दै नेपाल फर्काइदियो । घर आएर पत्थरीको उपचार गरेपछि उहाँ २० दिनमा ओमान फर्किनुभयो । तर कम्पनीले गरेको मौखिक सहमति पालना गरेन । ‘ओमान पुगेको एक महिनासम्म त तलब बढ्छ अर्को महिनामा भनेर आश देखायो । अर्को महिना अर्को महिना भन्दा भन्दै ७ महिना झुलायो’ बिसुनदेव भन्नुहुन्छ, ‘त्यसपछि भने मलाई अब तलब बढाउँदैन भन्ने लाग्यो त्यसैले घर फर्किएँ ।’
नेपाल त फर्किनुभयो तर के गर्ने कुनै बाटो देख्नुभएन । पहिले त विदेश जान पाए हुन्थ्यो भन्ने लाग्थ्यो उहाँलाई । तर विदेश अब त विदेशमा पनि हण्डर खाइसक्नुभएको थियो । त्यसैले खेतीपातीतिर लाग्नुभयो । दुई वर्ष जति खेती गर्नुभयो तर त्यति धेरै आम्दानी भएन । ‘विदेशमा पैसा खेलाइरहने बानीले होला’ बिसुनदेवले कारण पनि आफैं सुनाउनुभयो । दुई वर्षसम्म पनि कमाउन नसकेको पछि उहाँले फेरि विदेश नै जाने सोच्नुभयो । जे होला होला भन्ने सोचेर विदेश जाने निधोमा पुग्नुभयो उहाँ ।
सन् २०१३ मा उहाँ कतार उड्नुभयो । १ लाख २५ हजार रुपैयाँ लिएको म्यानपावरले उहाँलाई फर्निचर सोरुममा सामान मिलाउने काम भनेको थियो । तर कतार पुगेपछि फर्निचरको सोरुममा होइन कन्स्ट्रक्सन कम्पनीको काम पर्यो उहाँलाई । नेपालमा खेतीमा कमाइ भएन अनि काम गर्न गाह्रो भयो भनेर कतार हानिएका बिसुनदेवलाई कन्स्ट्रक्सनको काम त्यो भन्दा पनि गाह्रो भयो । त्यसैले ४५ दिनमा कतार जाँदा लिएको एक लाख २५ हजार रुपैयाँ ऋण जुटाउनुभयो अनि घर फर्किनुभयो । तर ओमान जाँदा लिएको ऋण जस्ताको तस्तै थियो ।
एकातिर ऋणले थिचेको थिच्यै थियो, अर्कोतिर साहु पनि दिनै घर धाउन थाल्यो । त्यसैले चुप लागेर बस्ने कुरै भएन । तर गर्ने कुनै विकल्प देख्नुभएन । त्यसैले एउटै विकल्प देख्नुभयो जग्गा बेच्ने । त्यसैले तीन कठ्ठा घडेरी ६ लाखमा बेच्नुभयो अनि १ लाख २५ हजार रुपैयाँ ऋण चुक्ता गर्नुभयो ।
ऋण तिरेपछि फेरि पनि गाउँमै केही गर्ने सोचेर पुर्खादेखि गर्दै आएको खेतीपातीलाई नै उहाँले व्यावसायिक रुपमा गर्न थाल्नुभयो । दुई वर्ष व्यावसायिक रुपमा बेमौसमी तरकारी खेती गर्दा कमाउन त सक्नुभएन उल्टै जग्गा बेचेर ऋण तिरेर बचेको तीन लाख रुपैयाँ पनि सकियो । न विदेशमा केही भयो न नेपालमै ।
यही कुराले विसुनदेवलाई सताउनु सतायो । जानेको र सकेको गरिसक्नुभएको थियो । त्यसैले केही दिनसम्म विकल्पै नभए जस्तो भयो । तर केही उपाय ननिस्किएपछि उहाँ फेरि पनि विदेश नै जाने टुङ्गोमा पुग्नुभयो । गाउँघरमा खेतीपातीमा तीन लाख भन्दा धेरै डुबाएका बिसुनदेव सन् २०१६ मा कतार उड्नुभयो । इलेक्ट्रिसियनको काममा । यस अघि त विदेश पुगेपछि भनेको काम र दाम नपाएर ठगिनुभएको थियो । तर तेस्रो पल्ट त उड्न नपाउँदै ठगिनुभयो । ९० हजार रुपैयाँ लिएको काठमाडौंको फोकस नेपाल नामको म्यानपावरले २० हजार रुपैयाँको मात्रै रसिद दिएर उहाँलाई उड्नु अघि नै ठग्यो ।
तर तेस्रो पटक पनि विदेश सोचे जस्तो भएन उहाँलाई । इलेक्ट्रिसियनका लागि भन्दै कतार पुगेको विसुनदेवलाई हेल्परको काम दियो कम्पनीले । साहुसँग कुरा गर्दा काम गर्ने भए गर नगर्ने भए नेपाल फर्क भन्ने जवाफ पाउनुभयो । त्यति मात्रै होइन अकामा कार्ड (परिचयपत्र) बनाउँदा सात सय रियाल लाग्यो भन्दै एक महिनाको तलब दिएन ।
दुई महिना लेबरको काम गर्दा नसक्ने भएपछि हार खाएर उहाँ दुई महिनामै नेपाल फर्किनुभयो । कमाउनु त कहाँ हो कहाँ उल्टै १३ सय ५० रियाल ऋण गरेर फर्किनुपर्यो । सात वर्ष अघि विदेश जाने सोच्दा बिसुनदेवले अरुले राम्रो कमाएको मात्रै देख्नुभएको थियो तर सात वर्षमा तीन पल्ट विदेश जाँदा त्यहाँको दुःख मात्रै भोग्नुभएन पैसा कमाउन हुने सकस पनि थाहा पाउनुभयो । त्यसैले भन्नुहुन्छ ‘सात वर्षमा तीन पटक विदेश गएपनि खाली हात नै हुनुपर्यो । केही जोड्न त सकिन उल्टै भएको पनि सकियो ।’ अब त केही गर्नलाई परिवारले पनि विश्वास गर्दैनन् भन्ने चिन्ताले सताएको छ । दुर्गाप्रसाद भट्टराई/सर्लाही ।