भोली शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘पुरानो डुङ्गा’ मा ‘चन्दु’ नामकी यूवतीको भुमिका निर्वाहा गरेकी नायिका प्रियंका कार्की अहिले बेलायतमा छन् । नयाँ चलचित्र ‘ह्याप्पी डेज’को छायाँकनका लागी बेलायतमा रहेकी प्रियंका आफु अभिनित चलचित्र ‘पुरानो डुङ्गा’ को वुधबार काठमाडौंमा भएको प्रिमियर शोमा सहभागी हुन पाइनन् । एकसाथ बेलायतमा चलचित्र ‘ह्याप्पी डेज’को छायाँकनमा व्यस्त भएपनि नायक नायक दयाहाङ राई भने प्रिमियरमा सहभागी भए । नायिका प्रियंका कार्की प्रिमियरमा सहभागी हुन्छिन् भनेर सबैको आँखा घुमिरहेको थियो तर दयाहाङ राई मात्र उपस्थित भएपछि धेरैले खल्लो महशुस पनि गरे तर अन्य नायक नायिकाहरुको जमघटले प्रिमियर शो सानदार देखिन्थ्यो । प्रिमियर शोमा सहभागी हुन नपाएपनि प्रियंकाले वुधबार साँझ नै फेसबुकमा एक स्टाटस लेख्दै आफ्ना फ्यानहरुलाई एकपटक ‘पुरानो डुङ्गा’ हेरिदिन आग्रह गरेकी छिन् । उनले स्टाटसमा दयाहाङ राई आफ्नो मिल्ने साथ भएको पनि लेखेकी छिन् ।
यस्तो छ उनले आफ्ना दर्शकहरुलाई लेखेको स्टाटस :-
५ बर्ष भएछ चलचित्र यात्रा सुरु गरेको । अनि, यती छोटै समयमा पनि यस क्षेत्रका सबै जसो असल र सफल व्यक्तित्वहरुसँग जोडिने मौका पाउँदा आफूलाई भाग्यमानी ठान्दछु। मेरो परिवार अझ ठूलो हुँदै गइराखेको छ। सुरुवात कठिन नै रहे पनि निरन्तरको मेहनत र सबैको साथले आज यहाँ सम्म पुगेको छु। सपना देख्नु पर्छ, कर्म गर्नुपर्छ, फल त अवश्य नै मिल्छ। सपना देखेकी हुँ, पुरा गर्न मेहनत पनि गर्दैछु।
यही शुक्रवारबाट मेरो नयाँ चलचित्र ‘पुरानो डुङ्गा’ लाग्दैछ। यो चलचित्र मेरा लागी झनै विशेष छ किनभने यही चलचित्रसँगै मैले यस क्षेत्रका सबैभन्दा सफल मध्येका एक ‘सिनेमा आर्ट’ परिवारसँग जोडिने मौका पाएँ (‘कबड्डी कबड्डी’ मा पनि म सानो भुमिकामा थिएँ)। टोलीका हरेक सदस्यले मलाई आफ्नै परिवारको हिस्सा सम्झेर माया अनि सम्मान दिनुभएको छ, त्यसका लागी पनि म आफूलाई झनै भाग्यमानी पाउँछु।
दयाहाङ राई, यस चलचित्रमा मेरा सह-अभिनेता र नेपाली चलचित्र क्षेत्रमा अहिलेका सबैभन्दा प्रिय र सफल कलाकार । मेरा लागी त झनै ठूलो कुरा, उहाँसँग यो मेरो पाँचौ चलचित्र हो। ‘झोले’ बाट सुरु भएको हाम्रो सहयात्रा ‘वडा नं छ’, ‘फन्को’, ‘हाउ फन्नी’ हुँदै ‘पुरानो डुङ्गा’ सम्म आईपुगेको छ र यसपछि पनि यो यात्रा निरन्तर रहनेमा पुर्ण रुपले विश्वस्त छु । चलचित्र ‘लालटिन’ प्रदर्शनको क्रममा छ र अहिले हामी ‘ह्याप्पी डेज’ को छायांकनमा साथ नै छौँ। यो सहयात्रामा मैले सँगै काम गर्ने कलाकार मात्र नभई एउटा मिल्ने साथी पनि पाएको छु, जसले यो यात्रा अझ बढी सुन्दर बनाइदिएको छ ।
‘पुरानो डुङ्गा’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ, यहाँहरुको माया र साथ पक्कै मिल्नेछ भन्ने आशा गरेकी छु ।
-प्रियंका कार्की