नायक राजेश हमाल आफु अभिनित चलचित्र बाहेक अन्य चलचित्र हेर्न हलसम्म खासै जाने गर्दैनन् । अझ विवाह बन्धनमा बाँधिएपछि त उनी खासै अन्य नेपाली चलचित्रहरु हेर्न हल गएको खबर बाहिर आएको छैन । उनले केहि दिन अगाडि चलचित्र ‘छक्का पन्जा’ र आफु अभिनित चलचित्र ‘शकुन्तला’ भने हलमा नै पुगेर हेरेका थिए । तर हमालले सोमबार भने तेश्रो सातामा प्रदर्शनरत चलचित्र ‘जात्रा’ हेरेका छन्, त्यो पनि श्रीमती मधु भट्टराईको साथमा ।
चलचित्र हेरेपछि हमाल जोडीले ‘जात्रा २’ को प्रतिक्षामा रहेको बताए । मधु भट्टराईसँग ‘जात्रा’ हेर्न कुमारी हल पुगेका हमालले कथाले अन्तिमसम्म नै बाँधेर राखेको प्रतिक्रिया दिएका छन् । “निकै मज्जाले हँसायो, दर्शकहरुले निकै मनोरञ्जन लिएको पाएँ,” उनले भने । आफ्नो साथीले फिल्मको निकै प्रशंसा गरेको सुनेर फिल्म हेर्न आएका हमाल जोडीले विवाह पछिसँगै बसेर हेरेको जात्रा, दोश्रो चलचित्र हो । मधु भट्टराईले भनिन्, “विवाह हुनुअघि त बेलाबखतमा हलमा गएर चलचित्र हेर्न सँगै जान्थ्यौँ, विवाह पछि ‘बाग्मति’ भन्ने चलचित्र हेरेका थियौँ । चलचित्र बागमती फरक खाल्को चलचित्र थियो । जात्रा भने धेरै वास्तविक छ ।”
‘जात्रा’को कथालाई लम्ब्याएर ‘जात्रा २’ निर्माण गर्न सकिने सम्भावना पनि रहेको उनीहरुले सुझाव दिएका छन् । उनीहरुको सुझावलाई सकारात्मक रुपमा लिइएको निर्देशक प्रदिप भट्टराईले बताएका छन् । तर, निर्माता एवं कलाकार रबिन्द्रसिंह बानियाँले भने ब्याजसहित चलचित्रले लगानी उठाइसकेको भन्दै ‘जात्रा’ भन्दा राम्रो स्कृप्ट बनेको खण्डमा मात्र ‘जात्रा २’ बन्ने स्पष्ट गरेका छन् ।
गएको शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको नेपाली चलचित्र ‘पुरानो डुङ्गा’ र बलीउड चलचित्र ‘डियर जिन्दगी’ जस्ता ठूला चलचित्रले पनि ‘जात्रा’ लाई खासै असर नगरेको रविन्द्रले जानकारी दिए । उनका अनुसार चलचित्रले २ करोडमाथीको विजनेश गरिसकेको छ ।