अहिले नायिका प्रियंका कार्की बेलायतमा छिन् । नायक दयाहाङ राईसँग चलचित्र ‘ह्याप्पी डेज’ को छायाँकनमा व्यस्त नायिका प्रियंका कार्की कोरियोग्राफर पनि हुन भन्ने कुरा प्राय सबैलाई थाहा छ । उनले विदेशमा हुने विभिन्न कार्यक्रमहरुमा कोरियोग्राफी पनि गरिसकेकी छिन् । प्रियंकाले यसअघि अमेरिकामा ‘मिस भुटान यूएसए’ को कोरियोग्राफी, ‘मिस यूके नेपाल २०१६’ प्रतियोगिताका लागि प्रमुख प्रशिक्षक र कोरियोग्राफरको रुपमा काम गरिसकेकी छिन् । हालै उनी सपन इन्टरटेनमेन्टले पहिलो पटक यूकेमा आयोजना गरेको ‘यूके डान्स अफ २०१६’ को पनि कोरियोग्राफरसँगै निर्णायक पनि बनेकी थिइन् । शनिबार सामुयल कोडी स्पोर्टस सेन्टर, फार्नबोरोमा आयोजित प्रतियोगीतामा प्रियंकाले पनि आफ्नो नृत्य प्रस्तुत गरिन । उनले ‘म त चमेली’, ‘मेरो नाम काली’ र ‘ब्लाष्ट हुने वाला छ मेरो जवानी’ मा नृत्य प्रस्तुत गरेकी थिइन । उनले तीन नेपाली गीतमा नृत्य गर्दा कार्यक्रम हल शिट्टी र तालीले गुञ्जयमान भएको थियो । हाल प्रियंकाले अभिनय गरेको चलचित्र ‘पुरानो डुङ्गा’ अहिले नेपाली हलहरुमा प्रदर्शन भइरहेको छ ।