१६ बर्ष अगाडी निर्माण भएको सफल नेपाली चलचित्र ‘दर्पण छायाँ’ को सिक्वेल ‘दर्पण छायाँ २’ को इन्डक्ल्याप भएको छ । झण्डै २ महिना लामो छायाँकनपछि चलचित्रको शुक्रबार इन्डक्ल्याप भएको निर्देशक तुलसी घिमिरेले जानकारी दिएका छन् ।
चलचित्रको इन्डक्ल्याप कार्यक्रममा ‘दर्पण छायाँ’ का नायक उत्तम प्रधान पनि देखिएका थिए । चलचित्र ‘दर्पण छायाँ २’ मा नखेल्ने बताएपनि इन्डक्ल्याप कार्यक्रममा उत्तम देखिनुले कतै उनी पनि चलचित्रमा त देखिएका छैनन् भन्ने अडकल अहिले धेरैले लगाएका छन् । उत्तम केही बर्षदेखी सिक्किममा बस्दै आइरहेका छन् । केही दिन अगाडी मात्र इसान फिल्म अवार्डको घोषणा कार्यक्रमका लागि नेपाल आएका उत्तम चलचित्र ‘दर्पण छायाँ २’ को इन्डक्ल्याप कार्यक्रममा देखिनु अनौठो भएपनि उनको केही सन्देश चलचित्रमा हुन सक्ने अडकल लगाउन सकिन्छ ।
दीलिप रायमाझी, उत्तम प्रधान, निरुता सिंहलाई लिएर १६ बर्ष अगाडी तुलसी घिमिरेले दर्पण छायाँ निर्देशन गरेका थिए तर यसको सिक्वेलमा भने अधिकांश नयाँ कलाकारहरुको बाहुल्यता रहेको छ । दीलिप, उत्तम र निरुताले चलचित्र खेल्न अस्वीकार गरेपछि बाध्य भएर तुलसी घिमिरेले नयाँ कलाकारहरु चलचित्रमा प्रस्तुत गरेका छन् । चलचित्रमा मोडल पुष्प खड्काका साथमा २ नयाँ नायिका सहारा कार्की, श्रद्धा प्रसाइसँगै सरोज खनाल, वीएस राना, शेर वहादुर, सुमन घिमिरे, जीवन आचार्य, अशिम शेर्पा, फिरोज तिमिल्सिनाको मुख्य भूमिका रहनेछ । तुलसी घिमिरेको लेखन र निर्देशन रहने चलचित्रका प्रस्तुतकर्ता डाक्टर लोपसाङ लामा हुन् ।
चलचित्रलाई नयाँ बर्षको छेउँछाउँ प्रदर्शन गर्ने तयारीमा निर्देशक तुलसी घिमिरे रहेका छन् । अब हेर्न यो बाँकी छ कि चलचित्रमा अभिनय गरेको नयाँ अनुहारले चलचित्र दर्पण छायाँका कलाकारहरुको अभाव महशुस गराउलान वा नगराउलान ? तर दर्शकहरुले भने ‘दर्पण छायाँ २’ मा पुरानै कलाकारहरु हेर्न चाहेका थिए तर चलचित्रको निर्माण घोषणा कार्यक्रममा निर्देशक तुलसी घिमिरेले दीलिप, उत्तम र निरुता निकै व्यस्त भएका कारण उनीहरुले चलचित्र खेल्न अस्वीकार गरेको बताएका थिए ।
१६ बर्षपछि ‘दर्पण छायाँ’को सिक्वेल लिएर आएका निर्देशक तुलसी घिमिरेलाई नयाँ कलाकारहरुबाट चुनौती भने राम्रै छ । १६ बर्षपछि नेपाली चलचित्रको बजार फेरिएको छ, हलीउड र बलीउड चलचित्रसँग प्रतिस्पद्र्या गर्नु पर्छ त्यसैले पनि तुलसी घिमिरेलाई नयाँ कलाकार लिएर ‘दर्पण छायाँ २’ बजारमा ल्याउन कम चुनौती पूर्ण भने छैनन् । निर्देशकहरुको गुरु मानिने तुलसी घिमिरेले निर्देशन गरेका चलचित्रहरु पारिवारिक हुन्छन् तर १६ बर्षपछि तुलसी घिमिरेको जादु नेपाली दर्शकमा चल्ला वा नचल्ला त्यो हेर्न चलचित्रको रिलिज मिति कुर्नुको अरु विकल्प छैन ।