‘होस्टेल’ चलचित्रबाट नेपाली रजतपटमा पाइला टेकेका नायक भुवन केसीका छोरा अनमोल केसी अहिलेका सुपरस्टार यूवा नायक हुन् । पहिलो चलचित्रबाटै यूवापूस्ताका दर्शकमाझ निकै चर्चित बनेका अनमोलले ‘होस्टेल’ पछि ‘जेरी’, ‘ड्रीम्स’ र ‘गाजलु’ चलचित्रमा अभिनय गरिसकेका छन् । यि चार चलचित्रबाटै अनमोलले लाखौ प्रशंसक कमाएका छन् भने प्रत्येक चलचित्रले करोडभन्दा माथीको विजनेश गरेका छन् । त्यसैले त अहिले उनका प्रत्येक चलचित्रले दर्शकहरुको मात्र होइन नेपाली मिडियाहरुको पनि ध्यान खिच्ने गर्छ । चाँडै नयाँ चलचित्र ‘कृ’ मा व्यस्त हुन लागेका अनमोल केसीले नव–नायिका अदिती वुढाथोकीसँग रोमान्स गर्देछन् । फागुणको पहिलो साताबाट छायांकनमा जान लागेको नायक अनमोलको चलचित्र ‘कृ’ को प्रदर्शन मिति भने तय गरिएको छ । चलचित्रका निर्माता सुवास गिरीले आउँदो बर्षको भदौ १६ गतेबाट यो चलचित्र देशभर रिलिज हुने जानकारी दिएका छन् ।
सुवासले भने–‘हामीले छायांकन अगावै प्रदर्शन मिति तय गरेका छौ । भदौमा पर्ने विभिन्न सार्वजनिक बिदा र दशैलाई लक्षित गरेर भदौ १६ लाई प्रदर्शन मिति तय गरिएको हो ।’
निर्माण कम्पनी सुवास इन्टरटेन्मेन्टले फ्लोरमा जानु अघि नै चलचित्र ‘कृ’ को रिलिज मिति घोषणा गर्नुको मुख्य कारण यो हो कि अनमोलको यो चलचित्रसँग अरु कुनै निर्माताले सोही मितिमा आफ्नो चलचित्र प्रदर्शन नगरुन । किनकी अनमोलसँग एकसाथ अरु कुनै चलचित्र प्रदर्शनमा आए भने त्यो चलचित्र त्यसै ओझेल पर्छ । यस कारणले पनि निर्माण कम्पनी सुवास इन्टरटेन्मेन्टले फ्लोरमा जानु अघि नै चलचित्र ‘कृ’ को रिलिज मिति घोषणा गरेको हुन सक्ने अनुमान लगाउन सकिन्छ । अब हेर्न यो बाँकी छ कि भदौ १६ गते अन्य निर्माताहरुले अनमोल अभिनित चलचित्र ‘कृ’ सँग आफ्नो चलचित्र रिलिज गर्ने आँट गर्न सक्लान वा नसक्लान ?
यो चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गर्दैछन् । सुवास इन्टरटेन्मेन्टको निर्माण र द सुपर काजोल फिल्मस्को प्रस्तुतीमा यो चलचित्र निर्माण हुन लागेको हो । चलचित्रमा सुवास गिरी र नायक भूवन केसीको लगानी रहनेछ । चलचित्रको कार्यकारी निर्मातामा कमल गिरी, सह–निर्मातामा श्री पराजुली रहेका छन् । यहि, चलचित्रका लागि नायक केसी अहिले शरीर बनाउन लागिपरेका छन् ।