माघे संक्रान्तिलाई लक्षित गर्दै पौष २९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘शब्द’ को ट्रेलर सार्वजनिक भएको छ । सौगात मल्ल स्टारर चलचित्र ‘शब्द’ को ट्रेलरमा प्रेम, द्धन्द्ध लगायतको पक्षलाई देखाउन खोजिएको छ । ट्रेलरको अन्त्यमा आफुले मनपराएको मान्छेको बिहेमा आँखाभरी आँशु पारेर सौगातले सहनाई बजाएका छन्, जुन दृश्य निकै मार्मिक देखिन्छ ।
नवनिर्देशक सन्तोष शिवाकोटीको निर्देशनमा बनेको यो चलचित्रमा सौगातका अलवा कमली वाइबा, अर्जुन गुरुङ, रोयदेव श्रेष्ठ, ओशिन भट्टराई, राज थापा लगायतको अभिनय रहेको छ । चलचित्रमा शिव ढकालको छायाँकन, राजनराज शिवाकोटी र सुरेश गैरेको संगीत, यम थापा र किरण घिमिरेको कथा, बनिष शाहले सम्पादन, एनवी महर्जनको द्धन्द्ध र डा. कृष्णहरि बराल र राजनराज शिवाकोटीको गीत रचना रहेको छ । चलचित्रलाई छिरिङ दोर्जे लामाले निर्माण गरेका हुन् ।