शुक्रबार साँझ दुबईमा हुन लागेको नवौं नेफ्टा अहिले विवादको चंगोलमा छ । जुरीको निर्णय विपरित अवार्ड बाढ्न लागेकोदेखी दुबई नजाने कलाकारको नाम भजाएर टिकट बेचेको खबरहरुले नै नवौं नेफ्टा अवार्ड विवादित बनिसकेको थियो । यति मात्र होइन, चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई नवौं नेफ्टा अवार्डमा सहभागी हुने भनेर पनि खुबै हल्ला चलेको थियो तर अन्तिममा राई अवार्डमा सहभागी हुन दुबई गएनन् । जबकी उनको नाममा भिसा र टिकट समेत इस्यु भइसकेको थियो । केही दिनदेखी लगातार नेफ्टा अवार्डको विवाद मिडियाहरुमा चौतर्फी आइरहेपछि बोर्डका अध्यक्ष राईले दुबई जान अस्वीकार गरेको खबर छ । उनी दुबई नजानुको अर्को मुख्य कारण नेफ्टा अध्यक्ष पुष्कर लामाको बदमासी हो । अध्यक्ष लामाले दुबई जाने व्यक्तिको नाम र अवार्डको निर्णयमा बोर्ड अध्यक्ष राईले मनोमानी गरेको भन्दै बजारमा हल्ला पिट्दै हिँडेपछि उक्त दोषको भागीदार बन्न विकास बोर्डका अध्यक्ष राईकुमार राई नवौं नेफ्टा अवार्डका लागि दुबई नगएको बताइएको छ । काम सबै आफुले गर्ने तर पुष्करले बजारमा भने राजकुमार राईको इशारामा नवौं नेफ्टा अवार्ड हुन लागेको भन्दै झ्याली पिटेका थिए । नेफ्टा कार्यसमितिले सबै दोष आफुलाई लगाएपछि उक्त दोषको भागीदार नबन्ने भन्दै अध्यक्ष राईले दुबईमा हुने नवौं नेफ्टा अवार्ड बहिस्कार गरेका हुन ।
त्यसो त गत बर्ष कतारमा सम्पन्न भएको आठौं संस्करणको नेफ्टा अवार्डमा अतिथीको रुपमा लगिएका राजकुमार राईको अतिथी सत्कारमा लापर्वाही गरिएका कारण पनि तत्कालिन कार्यसमिति प्रति उनी रुष्ट थिए । फलस्वरुप नेफ्टाका तत्कालिन अध्यक्ष मनोज केसी र महासचिव अनन्त तिमल्सिनासँग समेत उनको सम्बन्ध चिसिन पुगेको थियो । त्यसपछि उनले आफ्नो विश्वास पात्र ठानेका पुष्कर लामालाई गएको अधिवेशनमा नेफ्टा अध्यक्ष बनाउनका लागि सहयोग पुराएका थिए । तर, यिनै लामाले आफ्नो कार्यकालमा हुन लागेको नवौं नेफ्टा अवार्डमा सबै दोष राजकुमार राईलाई थुपारिदिएपछि अहिले पुष्कर र राईको सम्बन्ध पनि चिसिन पुगेको छ ।
त्यसै गरि नेफ्टा कार्यसमिति भित्र दुबईमा हुन लागेको अवार्ड कार्यक्रममा कसलाई लाने र कसलाई नलाने भन्ने विषयमा आन्तरिक कलह भएको खबर प्राप्त भएको छ । नेफ्टा उपाध्यक्ष अरुण रेग्मी र नेफ्टाका केही पद्याधिकारीबीच भनाभन हुँदा स्थिती तनाबपूर्ण समेत हुन पुगेको थियो । सोही कारण नेफ्टा उपाध्यक्ष अरुण रेग्मीले समेत कार्यक्रम बहिष्कार गरेको नाम नखुलाउने सर्तमा नेफ्टा कार्यसमितिकै एक सदस्यले सिनेखबर डटकमलाई जानकारी गराएका छन् । नेपाल प्राविधिक संघले आयोजना गर्ने नेफ्टा अवार्ड आफैमा प्रतिष्ठित अवार्ड हो तर प्रत्येक बर्ष विवादमा तानिरहेका कारण अहिले नेफ्टा अवार्डले चलचित्रकर्मीहरुको विश्वास गुमाउँदै गएको छ ।