बिगत ४ दशक देखि निरन्तर पत्रकारिताको क्षेत्रमा सक्रिय रहनुभएका बरिष्ठ पत्रकार किशोर नेपालसंग केही पर्सनल एवं केही प्रोफेशनल अनि रमाइलो कुराकानी :-
१. पत्रकारिताको यो यात्रा यहाँसम्म आइपुग्दा कस्तो महशुस गर्नुहुन्छ ?
यात्रा बढो रमाइलोसँग बित्यो । अहिले यहाँसम्म आइपुग्दा बीचमा धेरै अफ्ठ्यारा र अवरोधहरु आइपरे तैपनि हिँडिरहे आज म जुन स्थानमा छु, जहाँ छु त्यहाँबाट हेर्दा जिन्दगी रमाइलो लाग्छ, अदभुत लाग्छ र उपलब्धिमुलक लाग्छ ।
२. मिडियाबाट किन टाढा जान सक्नुहुन्न ? यसमा के त्यस्तो नशा छ ?
मिडियामा लागेको नै ४ दशक भैसक्यो । अन्त जानै सकिन्न । मलाई लाग्छ मिडियाको संसार नै रमाइलो छ । किनकी यसमा ग्ल्यामर, सेंनसेशनसँगै खतरा पनि छ । सबैभन्दा ठुलो कुरा यो आफैमा स्वत्रन्त्र छ ।
३. तपाईंलाई अझैपनि यस्तो गर्न पाए हुन्थ्यो भन्नेके धोको छ ?
टेलिभिजनमा यस्तो कार्यक्रम भए हुन्थ्यो । अखबारले यस्तो लेखे हुन्थ्यो, अनलाइनहरुले बिषयहरूलाई यसरी डिल गरीदिए हुन्थ्यो, रेडियोहरुमा चाही यस्तो ड्रामा सुन्न पाएहुन्थ्यो भन्ने लाग्छ ।
४. अहिलेको संचार क्षेत्र कहाँ सम्म लम्किएको पाउनुहुन्छ ?
यो कहिँ पनि लम्किएको छैन जहीको त्यहिँ छ । काठमाण्डौमा नै सिमित छ । यसले आफ्नो बाटो अझै पहिल्याई सकेको छैन र यसलाई आफ्नो बाटो पहिल्याउन दिनु पर्छ ।
५. अहिले त अनलाइनको जमाना छ, पेपर र अनलाइन रोज्नु पर्यो भने तपाईंको रोजाइ के हुन्छ ?
म त पेपर नै रोज्छु किनभने केही अनलाइन बाहेक धेरैजसो अनलाइनहरुले न्युजहरूलाई कन्फर्म पनि नगरी हावाको भरमा पछि लाग्छन् । जे मन लाग्यो त्यहिँ न्युज बनाउछन् । यसमा बिश्विसनियताको कमी छ । सुनेकै भरमा त जसले पनि न्युज बनाउन सकिहाल्छन् नि हैन र ? अनलाइन न्युजमा बिश्वासको आधार कम छ ।
६. यो उमेर सम्म पनि मिडियामा सक्रिय हुनु भएको छ, थाक्नु भएको छैन ?
किन थाक्नु ? मलाई काम गर्न मन लाग्छ, म काममा कहिले अल्छि गर्दिन, सोच्नु पनि अल्छि गर्दिन । म नयाँ कुराहरु सोच्न सक्छु, नयाँ नयाँ हिसाबले जिन्दगीलाई लिन सक्छु । नयाँ नयाँ विषयलाई डिल गर्न सक्छु । म आफ्नो काममा रमाउने मान्छे परे ।
७. तपाईं महिला सहकर्मीहरुसँग बढी रमाउनु हुन्छ रे ?
म मात्र होइन सबै महिलासहकर्मीसँग रमाउँछन्, नाम मात्र मेरो लिने हो । मैले रमाउनु पर्ने खासै त्यस्तो बिशेष कारण पनि केही छैन । म त पुरुष सहकर्मीहरुसंग पनि त्यतिकै रमाउछु, खास कुरो चाहिं के हो भने कम उमेरका युवा युवतीहरुसँग काम गर्दा रमाइलो हुन्छ । नयाँ-नयाँ कुराहरु सिक्न पाइन्छ, सिकाउन पाइन्छ । दिमाग पनि चुस्त हुन्छ, कुरा त्यति हो ।
८. तपाईंलाई कुनबेला बढी रिस उठछ ?
लेख्ने काम गरेको बेलामा फोन आयो भने, प्राय लेख्ने काम म बिहान नै गर्छु, त्यतिबेला म मेरो मोबाइल अफ गर्छु ।
९. तपाईं बढी के मा शौखिन हुनुहुन्छ ?
लाउँनमा, खानुमा र गाडी चढनुमा म एकदमै शौखिन छु ।
१०. तपाईंको मनपर्ने खाना ?
मलाई दाल भात एकदमै मनपर्छ, अझ थकाली थाली भए बेश । जहाँ गएपनि म सधैँ नयाँ नयाँ स्वाद चाख्न रुचाउँछु ।
११. विदेश भ्रमण धेरै गर्नु भयो, डेटिंग पनि धेरैजनासँग जानु भयो होला नि ?
खै, हाम्रो पालामा अहिले जस्तो डेटिङ त्यस्तो पपुलर थिएन, केटी साथीहरु हुन्थे, खान गयो पैसा सकायो त्यति हो ।
१२. तपाईं अहिले ब्लाइन्ड डेट जानु परेमा कुन नेपाली नायिकालाई रोज्नु हुन्छ ?
अहिले त प्रियंका कार्कीसँग नै जानुपर्ला नि ।
१३. तपाईंलाई के कुराले बढी रोमान्चित बनाउँछ ?
जिन्दगीमा यति धेरै कुराहरु देखिसके, भोगिसके अब मलाई केही कुराले पनि रोमान्चित बनाउँदैन ।
१४. कुन गायकको गीतहरु बढी सुन्न मनपराउनु हुन्छ ?
मलाई दिप श्रेष्ठ, योगेश्वर अमात्यको गीतहरु मनपर्छ । योगेश्वर अमात्यले गज्जबको गाउँछ । उसको गीतहरु अरुको भन्दा बेग्लै किसिमको हुन्छ र गाउने शैली पनि म उसको गीतको अलि बढी नै क्रेजी छु । अरु त मुडमा भर पर्ने कुरा हो ।
१५. तपाईंलाई धेरै रमाइलो गर्नु पर्छ रे ? यो कुरा कति सत्य हो ?
म रमाइलो चाहिं गर्ने मान्छे नै हो । रमाइलो गर्नको लागि पैसा नै खर्च गर्नु पर्छ भन्ने छैन, आफ्नो मनले खाएको साथीभाइहरु संग बस्नु पाए यसै रमाइलो, कसैले कुखुरा पकाउछन्, कसैले भात पकाउछन् त कसैले पिउन साथ दिन्छन्, त्यसपछि त रमाइलो नै रमाइलो ।
१६. कस्तो महिलासँग तपाईं चाँडै आकर्षित हुनुहुन्छ ?
आफ्नो कुरा नलुकाउने, खुलेर कुरा गर्ने बोल्ड, फ्रेंक, मोडेस्ट टाइपको महिलाहरुसँग म घुलमिल हुन रुचाउछु ।
१७. हरेकको आ–आफ्नै पहिचान हुन्छ, तपाईंको पहिचान ?
मलाई लाग्छ यतिका समय मिडियामा लागियो, अझै सक्रिय छु । लेख्नु नै मेरो पहिचान हो भन्न रुचाउछु ।
१८. ड्रिंक बढी गर्नु हुन्छ ? पैसा, महिला, ड्रिंक रोज्नु पर्यो भने के रोज्नु हुन्छ ?
तीनैवटा मेरो च्वाइसमा पर्दैन त्यसैले रोज्दिन, भए नि ठिकै छ नभए नि ठिकै छ ।
१९. तपाइले एकसमय फेसबुकमा शेयर गर्ने तस्बिरहरु बारे निकै नै रिसाएर स्टाटस राख्नुभएको थियो नि ?
हो, मलाई फेसबुकमा मरेको मान्छेको फोटो, दुर्घटना भएको रगताम्मे फोटो, जलाईराखेको लाशको फोटो राखेको पट्टक्कै मनपर्दैन यस्तो देखेर मान्छे झन् डिस्टर्ब हुन्छ । सोशल नेटवार्किंग भनेको मान्छेलाई खुशी पार्ने हो । मानिसहरु सधैँ खुशी खोजिरहेका हुन्छन् । यस्तो तस्बिरहरुले मानिसहरुलाई अझ बिक्षिप्त बनाउछ । खै किन नबुझेका हुन् राख्नेहरुले ?
२०. वर्तमान नेपालको राजनीति अवस्था बारे केही बताइदिनु हुन्छ ?
अहिलेको राजनीतिक अवस्था भनेको राजनीतिक नेताहरुको नियन्त्रणमा नभई बदमाशहरुले नियन्त्रण गरेको अवस्था हो । यसलाई सबैले राम्ररी नै बुझेका छन् ।
प्रस्तुती एवं परिकल्पना : जयन सुब्बा मानन्धर