एकसमय थियो नायिका करिश्मा मानन्धरको पनि नेपाली बजारमा गज्जबकै क्रेज र अहिले पनि कम भएको भने छैन । तर, जति बेला करिश्माका चलचित्रहरु हेर्नका लागि दर्शकहरु हलमा लाइन लाग्थे अहिले भने त्यो अबस्था छैन । हुनत, उनी मुख्य भूमिकामा रहेर काम गरेका चलचित्रहरु दर्शकहरुले हेर्न नपाएको नै बर्षौ भइसक्यो । केही बर्षयता कुनै-कुनै चलचित्रमा गेष्ट रोलमा देखिने करिश्मालाई अब सायदै दर्शकहरुले लीड नायिका बनेर पर्दामा हिरोको अंगालोमा बाँधिएको देख्न पाउने छन् किनकी अहिले उनीमाझ निर्माताहरु नायिकाको रोल होइन आमाको रोल बोकेर पुग्ने गर्छन ।
उनीसँगैका नायिका गौरी मल्ल, नायक सरोज खनाल, मिथिला शर्मा लगायतका धेरै नायक-नायिकाहरुले चलचित्रको पर्दामा आमा-बुबाको भूमिका निर्वाहा गरिसकेका छन् तर करिश्मा तत्काल त्यस्ता भूमिका निर्वाहा गर्न चाहन्नन् । तर, अहिलेको अबस्थामा कुनै पनि त्यस्ता निर्माता छैनन् जसले करिश्मालाई नायिका बनाएर हिरोको अंगालोमा बाँधिदिने । किनकी क्रमश नेपाली बजारमा भित्रिदै गएका नयाँ अनुहारको पछाडी दौडिएका नेपाली निर्माताहरु करिश्मामाथी लगानी गरेर जोखिम उठाउन चाहँदैनन् ।
योे सत्य पनि हो, अब करिश्माले नायकको अंगालोमा बाँधिएर ‘मलाई पनि अंग्रेजीमा बोल्न सिकाइदिऊ न’ भन्दै रोमान्स गरेको दर्शकहरुले नै पचाउँदैनन् । होला उनको सुन्दरताले ति सबै कुराहरु विर्साउँलान् तर यो कुरा करिश्मा आफै नकार्न सक्दिनन् कि अब नायकसँग रोमान्स गर्दा आफ्नो लागि हलमा न ताली बज्नेछ नत शिठ्ठी नै । त्यसैले त पछिल्लो समय न उनी लीड नायिका बनेर चलचित्रमा देखिएकी छिन् नत अन्य भूमिकामा नै । उनलाई यति बेला दर्जन बढी चलचित्रबाट आमाको रोल निर्वाहा गरिदिनका लागि अफरहरु आइरहेका छन् तर ति अफरहरु करिश्माले एकपछि अर्को गर्दै रिजेक्ट गरिरहेकी छिन् । उनलाई लाग्दो हो यदी मैले तत्काल चलचित्रमा आमाको भूमिका निर्वाहा गरे भने जुन छाप मेरो नायिकाको थियो त्यो रहने छैन । तर, यो कुरा सबैलाई थाहा छ कि उनी रियल लाइफमा भने २० बर्षकी एक छोरीकी आमा समेत हुन ।
डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालमा समेत आबद्ध करिश्मा अहिले चलचित्रको पर्दामा भन्दा पनि रिवल काट्नदेखी कुनै कार्यक्रमको अतिथी बन्नमा नै वितिरहेको छ ।
उमेरले ४२ बर्ष पुगिसकेकी करिश्माको सुन्दरता हेर्दा अझै पनि लाग्छ उनी ३० बर्षकी नायिका भन्दा कम देखिन्नन् । वि.सं. २०४२ सालमा बनेको ‘सन्तान’ चलचित्रबाट नेपाली रजतपटमा भित्रिएकी करिश्मा निर्मात्री समेत हुन । तर, उनले नायिका हुँदा जस्तो सफलता हात पारिन् त्यो अनुसारको सफलता निर्मात्री बन्दा लिन पाइनन् । बाल्यकाल गरिबी र अभावमा विताएकी करिश्माले विनोद मानन्धरसँग विवाह गरेपछि चर्चाको शिखरमा पुगेकी थिइन ।