अर्को बर्षको बैशाख २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘रोमियो’ को अफिसियल टीजर सार्वजनिक भएको छ । टीजरमा नायिका ओसिमा बनुले नायक हसनराजा खानलाई मनपराएको देख्न सकिन्छ भने हसन नायिका निशा अधिकारीको प्रेममा परेका छन् । अर्की नायिका मेलिना मानन्धरको भूमिकालाई भने टीजरमा सस्पेन्स राखिएको छ । प्रेमसँगै एक्शनले भरिएको चलचित्र ‘रोमियो’ को टीजरबाट यो चाहिँ स्पष्ट थाहा हुन्छ कि नायक हसनराजा खान (रोमियो) कै कारण नायिका निशा अधिकारी र ओसिमा बनुबीच द्धन्द्ध हुनेछ । टीजरमा अर्की नायिका मेलिनाको सरप्राइज इन्ट्रीले चाहिँ कतै उनी भिलेनको भूमिकामा पो छिन् कि भन्ने अडकल काट्न सकिन्छ । तर, टीजरले अझै पनि यसको बिषयवस्तु के हो भन्ने खुलाएको छैन । नायक हसनराजाको जन्मदिनको अवसर पारेर यो चलचित्रको टीजर रिलिज गरिएको हो । चलचित्रमा हसन, मेलिना, नीशा, ओसिमासँगै भानुप्रताप ढकाल, विपेन गुरुङ, विकास खतिवडा लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई नव-निर्देशक शंकर कार्कीले निर्देशन गरेका हुन । चलचिमा रामेश्वर कार्कीको छायांकन, किरण घिमिरे ‘माइकल’को लेखन, सुरेन्द्र पौडेलको सम्पादन, अष्ट महर्जन एक्सन, गम्भिर बिष्ट र विपेन गुरुङको कोरियोग्राफी रहेको छ ।