कसैलाई एक चलचित्रले नै रातारात चम्काइदिन्छ त कसैको एकै चलचित्रले करियर ध्वस्त बनाइदिन्छ । तर, दुई चलचित्र खेल्दा समेत नायक आमेश भण्डारीको करियर भने उकालो लाग्न सकेन । उनको पहिलो डेव्यू चलचित्र ‘तँ म र ऊ’ भएपनि रिलिजमा भने यो चलचित्र दोस्रो भयो । त्यसभन्दा अगाडी गएको बर्ष दिनेश डिसीको निर्माण र निर्देशनमा तयार भएको चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’ प्रदर्शनमा आएको थियो तर यो चलचित्रले फूलको पैसा समेत उठाएन ।
अनमोल केसी अभिनित चलचित्र ‘ड्रीम्स’ सँग एकसाथ प्रदर्शनमा आउँदा यो चलचित्र चेपुवामा परेको थियो । त्यसपछि उनको डेव्यू चलचित्र ‘तँ म र ऊ’ यही बर्षको मंसीर १७ गते प्रदर्शनमा आयो तर यो चलचित्रले पनि आमेशलाई सफलताको सिढी चढ्न मद्दत गरेन । यतिसम्मकी चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’ रिलिजताका आमेशले आफु नायिका नीता ढुंगानासँगको प्रेममा रहेको भन्दै चर्चामा आउन समेत पछाडी परेका थिएनन् । जसरी उनलाई लगातार दुई चलचित्रले धोका दियो त्यसरी नै उनको प्रेम पनि अहिले खोलाको दुई किनार भइसकेको छ । ‘सिनेखबर डटकम’ लाई प्राप्त जानकारी अनुसार, आमेश अहिले नयाँ चलचित्र ‘मेला’ गर्ने तयारीमा छन् तर यसको आधिकारीक घोषणा भने भइसकेको छैन ।
आफु अभिनित दुवै चलचित्र फल्प हुँदा अहिले आमेशलाई लिएर जोखिम उठाउन चाहेका छैनन् नेपाली निर्माताहरु तर ‘फूलै फूलको मौसम तिमीलाई’ मा उनले गरेको अभिनयले भने दर्शकहरुको राम्रै मन जितेको थियो । तर, दर्शकको मन जितेर कहाँ उनलाई राहत मिल्यो र निर्माताहरुले नपत्याइदिँदा अहिले आमेश भण्डारी गुपचुप जस्तै भएका छन् । यति मात्र कहाँ हो र, सिनेवृतमा अहिले आमेश भण्डारीलाई अनलक्की नायक पनि भन्ने गरेका छन् । लुक्स र अभिनयले दर्शकहरुलाई लोभ्याउन सफल भएपछि आमेश भण्डारीलाई लिएर निर्माताहरुले जोखिम उठाउन चाहेको भने देखिन्न, जसले गर्दा अहिले उनी फाट्ट फुट्ट म्यूजिक भिडियोमा मात्र सिमित भएका छन् । अब यो त भोलीका दिनहरुमा नै थाहा हुनेछ कि आमेशले आफ्नो करियर चम्काउन सक्छन् वा सक्दैनन् । तर, यो भन्दा गलत नहोला कि दुई चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’ र ‘तँ म र ऊ’ ले आमेशको करियर डामाडोल बनाएको छ ।