केही बर्ष अगाडीसम्म नेपाली चलचित्रमा लगानी गर्नु भनेको बालुवामा पानी हाल्नु सरह हो भन्ने गरिन्थ्यो । तर, २०६९ सालमा प्रदर्शनमा आएको चलचित्र ‘लुट’ ले त्यो सोचलाई नराम्रैसँग तोड्यो । लगानी उठाउन समेत मुश्किल पर्छ भन्ने सोच पालेर बसेका निर्माताहरुलाई ‘लुट’ को व्यापारले छागाँबाट खसे झै बनायो । ५१ दिन मनाउँदा चलचित्र ‘लुट’ ले ४ करोड ग्रस कलेक्शन गरेको थियो । त्यति बेला नेपालमा मल्टिप्लेक्सहरु विस्तार भइसकेका थिएनन् । ‘लुट’ ले नै हो राम्रो चलचित्र निर्माण गरे यतिसम्म चाँहि नेपालबाटै व्यापार गर्न सकिन्छ भन्ने छाप बनाएको । ‘लुट’ को उक्त व्यापारलाई आजभन्दा २ बर्ष अगाडी प्रदर्शनमा आएको चलचित्र ‘कोहिनूर’ ले तोड्यो । खबरका अनुसार, ‘कोहिनूर’ को लाइफटाइम कलेक्शन ११ करोड थियो । धेरैले अब ‘कोहिनूर’ को व्यापार तोड्न असम्भव रहेको समेत भने तर भदौ २४ गते प्रदर्शनमा आएको चलचित्र ‘छक्का पन्जा’ ले सारा रेकर्ड ब्रेक गर्यो । केही हप्ता अगाडी मात्र सय दिन मनाएको ‘छक्का पन्जा’ को व्यापार १६ करोड रहेको वितरक बताउँछन् । यो व्यापारलाई नेपाली चलचित्र इतिहासकै उच्च मानिएको छ । अब यति बेला सबैको ध्यान फागुन १३ गतेमा छ । किनकी फागुन १३ गते प्रतिक्षित मानिएको चलचित्र ‘लुट २’ प्रदर्शनमा आउँदैछ । गएको बिहिबार सार्वजनिक भएको चलचित्र ‘लुट २’ को ट्रेलरले युटयुवमा तहल्का पिटिरहेको अबस्थामा ‘के ‘छक्का पन्जा’ को व्यापारलाई ‘लुट २’ ले उछिन्न सक्ला त ?’ भन्ने बहसले अहिले नेपाली सिनेवृत खुबै तातेको छ । चलचित्र ‘लुट २’ को ट्रेलर सार्वजनिक कार्यक्रममा चलचित्रका निर्माता माधव वाग्लेले त ‘छक्का पन्जा’ ले १६ करोड मनायो आफ्नो चलचित्रले १७ करोड कमाउनु पर्छ भन्न समेत छोडेनन् । पत्रकारको एक प्रश्नको उत्तर दिँदै निर्माता वाग्लेले भने, ‘रेकर्ड तोडिनकै लागि बन्छ । म ‘छक्का पन्जा’ ले बनाएको रेकर्ड तोड्न चाहान्छु । ‘छक्का पन्जा’ ले १६ करोड कमाएको थियो मेरो फिल्मले १७ करोड कमाओस् भन्ने चाहन्छु ।’
अब यो त फागुन १३ गतेपछि नै थाहा हुनेछ कि चलचित्र ‘लुट २’ ले ‘छक्का पन्जा’ को रेकर्ड तोड्न सक्छ वा सक्दैन । तर, कुनै चलचित्रले ‘छक्का पन्जा’ को रेकर्ड तोड्न सक्छ भने त्यो ‘लुट २’ हो भन्दा अहिलेको अबस्थामा गलत नहोला ।