नायक निखिल उप्रेती स्टारर चलचित्र ‘निर्भय’ सँग एकसाथ भिडन्त गर्न नायक जीवन लुइँटेल र नायिका नीता ढुंगाना अभिनित चलचित्र ‘लेक साइड’ तयार भएको छ । हालैमा ‘लेक साइड’ निर्माणपक्षले माघ २८ गतेलाई रिलिज मिति फाइनल गरेको छ । त्यस्तै, निखिल उप्रेती अभिनित चलचित्र ‘निर्भय’ ले माघ २८ गतेलाई आफ्नो प्रदर्शन मिति यसअघि नै फाइनल गरिसकेको थियो । तर, अहिलेको अबस्था हेर्ने हो भने प्राविधिक कारण देखाउँदै निर्माणपक्षले ‘निर्भय’ को रिलिज मिति पोष्टपोन्ड गर्न सक्ने देखिन्छ । किनकी निखिल उप्रेती अभिनित अर्को चलचित्र ‘किङ्ग’ यही पुष २८ गते प्रदर्शनमा आउने भएका कारण पनि ‘निर्भय’ निर्माता देवी प्रसाद पाण्डे चलचित्रको रिलिज मिति पोष्टपोन्ड गर्ने तयारीमा छन् । तर, यसको विषयमा निर्माणपक्षले औपचारिक जानकारी भने दिइसकेको छैन ।
चलचित्रको छायाँकन सकाएपछि निर्माता पाण्डेले भ्यालेन्टाईन डेलाई लक्षित गर्दै ‘निर्भय’ को रिलिज मिति माघ २८ गतेलाई तोकेका थिए । तर, फागुन ३ गते भ्यालेन्टाईन डे भएका कारण ‘निर्भय’ माघ २८ गते प्रदर्शनमा आउन सक्ने पनि देखिन्छ । चलचित्र ‘लेक साइड’ निर्माणपक्षले पनि भ्यालेन्टाईन डेलाई लक्षित गर्दै आफ्नो प्रदर्शन मिति माघ २८ गतेलाई फाइनल गरेको हो ।
अचम्मको कुरा त के छ भने यी दुवै चलचित्रमा नायिका नीता ढुंगानाको मुख्य भूमिका रहेको छ ।
यदी ‘निर्भय’ र ‘लेक साइड’ एकसाथ प्रदर्शनमा आए भने यी दुई चलचित्रको लडाइँ भने हेर्न लायककै हुने देखिन्छ । पर्यटकीय नगरी पोखराको ‘लेक साइड’ मा एउटा युवक संगीत क्षेत्रमा लागेपछि भोग्नुपरेको विविध पीडालाई प्रस्तुत गरिएको चलचित्र ‘लेक साइड’ मा नीता ढुंगाना र जीवन लुँइटेल प्रमुख भूमिकामा छन् । यसअघि नीता र जीवनले एकसाथ चलचित्र ‘धुन’, ‘नोटबुक’ र ‘भूल भूलैया’ मा काम गरेका थिए । चलचित्रमा दीपक ढकाल र एन्जल ढुंगानालगायतको पनि अभिनय छ ।
आशुतोष फिल्म्स प्रोडक्शन र चन्द्रज्योती फिल्म्सको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा एञ्जल ढुंगानाको लगानी छ । इन्दिरा तिवारी ढुंगाना कार्यकारी निर्माता रहेको चलचित्रमा मौनता श्रेष्ठको पटकथा तथा संवाद, पवन गौतमको छायांकन र तारा थापा ‘किम्भे’ को सम्पादन छ ।
त्यस्तै, चलचित्र ‘निर्भय’ मा निखिल र नीताका अलवा शुशिल पोखरेल, विकास चापागाई, विशाल पहाडी, कृष्ण शिवाकोटी, प्रदिप ढकाल, प्रज्ज्वल गिरी, रश्मि भट्ट लगायतको अभिनय रहेको छ । यो चलचित्रलाई मधुसुदन भट्टराईले निर्देशन गरेका हुन ।