हास्यक्षेत्रको एक परिचित अनुहार हो दीपाश्री निरौला । लामो समयसम्म नेपाल टेलिभिजनबाट प्रशारण हुने हास्यटेलिश्रृखला ‘तितो सत्य’ मा हास्यकलाकार दीपकराज गिरीकी श्रीमती भएर काम गरेकी दीपा अहिले सफल चलचित्र निर्देशक समेत बनिसकेकी छिन् । उनको निर्देशनमा तयार भएको चलचित्र ‘छक्का पन्जा’ ले गएको केही दिन अगाडी मात्र सय दिन मनाएको थियो । पहिलो डेव्यू चलचित्रले नै दीपालाई अहिले राम्रै उचाईमा पुराएको छ । चाँडै अर्को नयाँ चलचित्र निर्देशन गर्ने तयारीमा रहेकी दीपा उमेरले भने ४० बर्ष नाघिसकेकी छिन् । तर, अहिलेसम्म उनी अविवाहित नै छिन् । कुनै अन्तर्वार्तामा होस् वा कुनै कार्यक्रममा जाँदा नै किन नहोस् दीपालाई एउटै प्रश्न सोध्ने गरिन्छ ‘बिहे कहिले गर्ने ?’ र, दीपाले पनि बर्षौदेखी भनिरहेकी छिन्, ‘बिहे गर्छु-गर्छु’ । तर, अहिलेसम्म उनी रियल लाइफमै कसैको दुहली भने बनिसकेकी छैनन् । हालैमा सिनेखबर डटकमसँगको एक अन्तर्वार्ताको क्रममा उनले चाँडै विवाह गर्ने सोचमा रहेको भन्न फेरी पनि छुटाइनन् । उनले भनिन्, ‘बिहे त गर्ने तर अहिलेसम्म भगवानले साइत नै जुराइदिनुभएको छैन ।’
घरबाट चाँहि कतिको दबाब आउँछ बिहे गर्नुपर्छ भनेर ? भन्ने सिनेखबरको प्रश्नमा दीपाले भनिन्, ‘पहिला बुबाले धेरै भन्नुहुन्थ्यो अब बिहे गर बिहे गर भनेर । तर अहिले चाँहि भन्नु हुन्छ मेरी छोरी सारा ३ करोड नेपालीको छोरी भएर उभिएकी छे । तँ जसरी खुसी हुन्छेस् त्यसरी नै बाँच भन्नुहुन्छ ।’ उनले अन्तर्वार्ताको क्रममा चलचित्र निर्देशन र अभिनयलाई साथ-साथ लैजाने पनि बताइन् । ‘तितो सत्य आमा हो र चलचित्र मामा हो मेरो लागि । किनकी म आज जहाँ छु त्यो स्थान तितो सत्यले बनाइदिएको हो । अहिले मैले निर्देशकको पाटो समालेको छु । त्यसैले पनि अर्को चलचित्रमा पनि निर्देशक नै भएर आउँछु । तर समय मिलेका र कथा राम्रो मिलेको खण्डमा अभिनयलाई पनि निरन्तरता दिनेछु ।’, दीपाले अन्तर्वार्ताको क्रममा भनिन् । अहिले दीपा र दीपक चलचित्र ‘छक्का पन्जा’ को प्रदर्शनका लागि यूरोपमा छन् ।