बलीउड अभिनेता ओम पुरीको ६६ वर्षको उमेरमा हृदयघातका कारणले गएको शुक्रबार निधन भयो । पद्म भूषण सम्मानबाट सम्मानित बलिउडका भर्सटाइल अभिनेता ओमको जन्म १८ अक्टोबर १९५१ मा पटियालामा भएको थियो । बलीउडको साथै कयौँ हलिउड फिल्ममा समेत अभिनय गरेका ओमको निधनको रहस्य भने अझै बाँकी नै छ । ओम पुरीको संदिग्ध हालतमा भएको मृत्यु र पोस्टमार्टम रिर्पोटमा टाउकोमा चोटको निशान भेटिएपछि मुम्बई प्रहरीले अहिले अनुसन्धानलाई थप तिव्र पारेको छ । सुरुवाती पोस्टमार्टम रिर्पोटमा ओमको टाउकोमा डेढ इन्च गहिरो र ४ सेन्टीमिटर लामो चोटको निशान देखिएको थियो ।
यही क्रममा ओम पुरीको विषयमा अहिले एकपछि अर्को गर्दै विभिन्न खबरहरु बाहिर आइरहेका छन् । यसैविच, पीआरओ स्मिता सिंहले भारतीय अनलाइन पत्रिका ‘दैनिक भाष्कर’ मा अन्तर्वार्ता दिने क्रममा ओम पुरी नेपालको लुम्बिनीमा देह त्याग गर्न चाहेको बताएकी छिन । उनले अन्तर्वार्तामा दिँदै भनिन्, ‘आफ्नो प्राण त्याग्नु भन्दा एकदिन अगाडी उहाँसँग मेरो भेट भएको थियो । त्यस बेला उहाँले मलाई अज्ञातवासका लागि नेपालको लुम्बिनी जान चाहन्छु भन्दै हुनुहुन्थ्यो । उहाँ नेपालको लुम्बिनी गएर आफ्नो शरीर त्यही छोड्न चाहनुहुन्थ्यो ।’
पुरी आफ्नो नेगेटिभ इमेज बनेकोका कारण पनि निकै दुखी थिए । स्मिताले अगाडी थप्दै भनिन्, ‘करिब एक हप्तादेखी मलाई पुरी जीले भनिरहनु भएको थियो कि म अज्ञातवासका लागि नेपालको लुम्बिनी जाँदैछु । जहाँ गौतम बुद्धको जन्म भएको थियो । म १५ दिनका लागि त्यहाँ जानेछु र यो कुरा म कसैलाई पनि भन्ने छैन कि म कहाँ गएको छु । म गाउँमा रहन्छु, मैनबत्ति र टर्चको सहाराले दैनिकी विताउने छु । म त्यहाँ रुखको मूनी बस्नेछु, जहाँ गौतम बुद्ध बसेका थिए । म आफ्नो शरीर त्यही त्यागी दिन्छु ।’ तर, उनको त्यो सपना अधुरै रह्यो । नेपालको लुम्बिनी आएर प्राण त्याग गर्न चाहेका ओम पुरीको गएको शुक्रबार निधन भएको छ । स्मिताले अन्तर्वार्ताको क्रममा ओम पुरी पोलिटिक्समा पनि जाने सोच बनाएको बताएकी छिन् ।