नेपाली सुगम संगीत तथा चलचित्र पार्श्व गायनका वादशाह राजेशपायल राईले हजार भन्दा बढी गीतहरुमा आफ्नो आवाज मिसाइसकेका छन् । गएको महिना मात्र हिट एल्बम ‘दर्शन नमस्ते’ को तेस्रो एल्बम सार्वजनिक गरेका राजेशपायल राई नेपाली चलचित्र तथा आधुनिक गीतहरु रेकर्ड गराउनमा नै बढी जसो व्यस्त रहन्छन् । जब चार्डपर्वहरु सुरु हुन्छ तब त उनको आवाजमा गीत रेकर्ड गराउने सपना धेरैको चकनाचुर समेत हुन्छ । चार्डपर्व सुरु भएपछि उनको व्यस्तता अन्य गायकहरुको तुलनामा बढी नै हुने गर्छ । उनी बढी जसो विदेशमा हुने कार्यक्रममा व्यस्त हुने गर्छन । यो भन्दा गलत नहोला कि उनी नेपालका अन्य गायक-गायिकाहरु भन्दा कन्सर्ट लगायतका कार्यक्रमहरुबाट सबैभन्दा बढी आम्दानी गर्ने गर्छन ।
राजेपायल राई गायक मात्रै हुन भन्दा सायद गलत सक्छ किनकी उनले दुई नेपाली चलचित्रमा मुख्य भूमिकामा समेत काम गरिसकेका छन् । ‘गुण्डाराजा’ र ‘अन्सु’ नामक चलचित्रमा काम गरेका राजेशपायल राई जसरी गायनमा ‘राई इज किङ्ग’ नामले चिनिए त्यसरी चलचित्रले भने उनलाई सफलताको सिढी चढ्न मद्दत गरेन । किनकी यी दुई चलचित्र व्यबसायिक रुपमा असफल रहे । यी दुई चलचित्रपछि उनलाई दर्शकहरुले ठूलो पर्दामा हेर्न पाएका छैनन् । यही विषयमा ‘सिनेखबर डटकम’ सँगको कुराकानीको क्रममा राजेशपायल राईले नेपाली चलचित्रमा तत्काल काम नगर्नुको विषयमा मुख खोलेका छन् । उनले समय नमिलेका कारण चलचित्रमा काम गर्न नसकेको बताए । उनले भने -‘अभिनयमा मेरो कम सक्रियता देखिनुको कारण मेरै व्यस्तता हो । निर्देशक सुरज सुब्बा नाल्बोले गायक अरुण थापाको स्टोरीमा चलचित्र निर्माण गर्दै हुनुहुन्छ, त्यसमा मेरो मुख्य भूमिका रहनेछ । तर, मेरो समय अभावका कारण अलि ढिला भइरहेको छ । अर्को उदय सुब्बाको चलचित्रमा पनि काम गर्ने कुरा भएको छ । दिनेश डिसीले ‘दर्शन नमस्ते’ नामक चलचित्र निर्माण गर्ने कुरा पनि फाइनल भएको थियो । तर, चलचित्रका लागि मैले ३ महिना समय दिनु पर्ने रहेछ तर मसँग कहिले पनि ३ महिना समय नै नहुने ।’
उनले अगाडी थप्दै भने -‘चलचित्रमा सक्रियता कम भएको भने पक्कै हो तर काम चाहिँ गर्छु । मलाई सुहाउने खाल्का चलचित्रबाट अफर आयो भने गायनसँगै अभिनयलाई पनि साथ-साथ लैजान्छु ।’
अन्तर्वार्ताको क्रममा गायक राईले आफु अहिलेसम्म कुनै यूवतीको प्रेममा नरहेको र अहिलेसम्म ब्रेकअप पनि नभएको बताए । उनले २०४७ सालदेखी २०५२ सालसम्म गायनक्षेत्रमा संघर्ष गरेका दिनहरु पनि सम्झिए । चलचित्रमा अहिलेसम्म कुन नायकका लागि सर्वाधिक गीत गाउनुभयो ? भन्ने प्रश्नमा राजेशपायल राईले अगाडी भने -‘मैले नायक राजेश हमालका चलचित्रमा नै बढी जसो गीत गाएको छु ।’ उनले आफुलाई राजनीति मन पर्ने पनि बताए । उनले भने मेरो बुबा राप्रपामा आस्था राख्नु हुन्छ । भोट दिनु पर्यो भने मैले राप्रपालाई नै दिने हो ।
राजेशपायल राईसँग गरिएको भिडियो कुराकानी हेर्न केही दिन प्रतिक्षा गर्नुहोला ।