यमबुद्धका नामले चिनिने नेपालका चर्चित र्याप गायक अनिल अधिकारीको शनिबार निधन भएको छ । केही समयदेखी परिवारसहित लण्डनमा बस्दै आएका २९ बर्षीय यमबुद्ध शनिबार बिहान साउथह्यारोस्थित घरको बाथरुममा झुण्डिएको अबस्थामा भेटिएका थिए । उनले आत्महत्या गर्नुको कारण भने खुलेको छैन । लण्डनस्थित नेपाली राजदूतावासले घटनाको पुष्टि गर्दै उनको मृत्युबारे थप जानकारी लिने कोसिस भइरहेको जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान थालिसकेको र बुधबार पोष्टमार्टम भएपछि मात्र थप जानकारी आउन सक्ने लण्डनमा रहेका अधिकारीका भिनाजु तथा नायक रेश मरहठ्ठाले जानकारी दिए ।
को हुन् यमबुद्ध ?
सन् १९८७, ३० मे मा धनकुटा जिल्ला, लेगुवामा जन्मिएका यमबुद्ध यूवापूस्तामाझ निकै लोकप्रिय र्याप गायक हुन् । यमबुद्धका नामले चिनिएता पनि उनको वास्तविक नाम भने अनिल अधिकारी हो । २००७ देखी गायनमा सक्रिय यमबुद्धले सयौं र्याप गीतहरुसँग दर्जन बढी नेपाली चलचित्रका गीतहरुमा पनि आवाज मिसाइसकेका छन् । गीत लेखनमा पनि उतिक्कै सक्रिय यमुबद्धले गाएका यो प्रशंग, दिदी, फुटपाथ मेरो घर, तिमी मलाई, नरुनुँ तिमी, पागलपन लगायतका सयौं र्याप गीतहरु चर्चित छन् । उनलाई यूवापुस्ताका दर्शकहरुले नेपाली र्याप गायनका बादशाह भनेर चिन्ने गर्थे ।