केही महिना अगाडी मात्र नायक निखिल उप्रेतीले आफ्नै होम प्रोडक्शनबाट ‘रुद्र’ नामक चलचित्रको निर्माण घोषणा गरेका थिए । यही चलचित्रको नामको पछाडी ‘प्रिया’ थपेर नायिका रेखा थापाले हिजो मात्र नयाँ चलचित्र ‘रुद्र प्रिया’ को घोषणा गरिन् । लामो समयदेखी एकअर्काका दुश्मन मानिने सिंगल हलका ‘बादशाह’ निखिल र रेखाको अहिले चलचित्रको नाममा समेत भिडन्त सुरु भएको छ । यति बेला रेखा थापाले नायक निखिल उप्रेतीसँग दुश्मनी निकाल्नका लागि पनि ‘रुद्र’ को पछाडी ‘प्रिया’ थपेर चलचित्र ‘रुद्र प्रिया’ निर्माण गर्न लागेको खबरले पनि गसिप बजार राम्रै तातेको छ । यति मात्र होइन अर्को बर्षको दशैंमा नायक निखिल उप्रेतीसँग नायिका रेखा थापाको भिडन्त गज्जबै हुने भएको छ । किनकी रेखाले आफ्नो होम प्रोडक्शनको चलचित्र ‘रुद्र प्रिया’ लाई अर्को बर्षको दर्शैको फुलपातीमा प्रदर्शन गर्दैछिन् भने निखिल अभिनित चलचित्र ‘पिंगडा ब्याक अगेन’ पनि सोही दिन रिलिज हुने लगभग पक्कापक्की भएको छ । निखिल र रेखासँग जुध्न निर्माता छविराज ओझा पनि अहिलेको अबस्थामा तयार देखिएका छन् । यही माघ ७ गतेबाट फ्लोरमा जान लागेको चलचित्र ‘मंगलम’ लाई छविराज ओझाले अर्को बर्षको दशैंको फुलपातीमा प्रदर्शन गर्देछन् । १० बर्षसम्म श्रीमान-श्रीमती भएर एउटै घरको छत मूनी बसेका रेखा र छवि अहिले अलगिसकेका छन् । देखावटी रुपमा काहिँ कतै भेट हुँदा माया देखाएपनि रेखा र छविराज ओझाको सम्बन्ध सोचे जस्तो सुमधुर छैन भने नायक निखिल उप्रेतीसँग त रेखाको पानीबाराबारकै अबस्था छ । अब यो त अर्को बर्षको दशैंमा नै थाहा हुनेछ कि निखिल र छविराज ओझासँग रेखाको भिडन्त कस्तो रहने हो ।
नायिका रेखा थापाले सुरुमा आफ्नै होम प्रोडक्शनबाट चलचित्र ‘कसले चोर्यो मेरो मन फेरी’ निर्माण गर्न लागेकी थिइन तर कथा तयार हुन केही समय लाग्ने भएपछि उनले ‘रुद्र प्रिया’ को निर्माण घोषणा गरेको खबर छ । यो चलचित्रमा रेखा आफैं मुख्य भूमिका रहनेछिन् भने सुदर्शन थापा र अर्पण थापा पनि मुख्य भूमिकामा रहेका छन् । ‘रुद्र प्रिया’ लाई ‘माला’ चलचित्रका निर्देशक सुदिप भूपाल सिंहले निर्देशन गर्नेछन् । आफ्नी आमा सरस्वती थापालाई निर्मात्री बनाएर यसपटक रेखाले ‘रुद्र प्रिया’ को कार्यकारी निर्मातामा सिम टिभिका मेनेजिङ डिरेक्टर रमेश पौडेललाई भित्राएकी छिन् । खबरका अनुसार, पौडेलको ‘रुद्र प्रिया’ मा ५० प्रतिशत शेयर रहनेछ ।