नेपाली चलचित्रमा को नायिका सबैभन्दा व्यस्त छिन् ? भन्ने प्रश्न उठ्यो भने सजिलै एउटै जबाफ आउँछ, प्रियंका कार्की । हो, नायिका प्रियंका कार्की पछिल्लो समय सर्वाधिक व्यस्त नायिकामा चिनिन्छिन् । सुन्दरता र अभिनयले लाखौं फ्यान बटुलिसकेकी प्रियंका अहिले प्रत्येक निर्माताहरुको रोजाईमा पर्ने गरेकी छिन् । केही दिन अगाडी मात्रै लण्डनमा चलचित्र ‘ह्याप्पी डेज’ को छायाँकन सकाएर नेपाल फर्किएकी नायिका प्रियंका कार्की हालैमा चलचित्र ‘बटरफ्लाई’ मा अनुबन्धित भइसकेकी छिन् । पर्दामा नायक दयाहांग राईसँग निकै फिट देखिने प्रियंकाको यस बर्ष तीन चलचित्र प्रदर्शनमा आए । २०७३ को सुरुवातमा चलचित्र ‘हाउ फन्नी’, भदौ २४ गते चलचित्र ‘छक्का पन्जा’ र मंसीर १० गते चलचित्र ‘पुरानो ढुंगा’ । यी तीन चलचित्र मध्ये ‘छक्का पन्जा’ ले त सय दिन मनाउँदा १६ करोड कमायो भने ‘हाउ फन्नी’ र ‘पुरानो ढुंगा’ को विजनेश सुखद नै रह्यो । यसरी हेर्दा माघसम्म आइपुग्दा प्रियंकाको लागि यस बर्ष सुखद नै देखिएको छ ।
तर, पछिल्लो समय उनी गुणस्तरिय चलचित्र भन्दा पनि संख्या बढाउन लगातार एकपछि अर्को चलचित्रमा काम गर्न लागेकी त होइनन् भन्ने अनुमान यति बेला धेरै चलचित्रकर्मीहरुले लगाउँदै आएका छन् । यतिसम्मकी चलचित्र ‘पुरानो ढुंगा’ मा प्रियंकाको कमजोर भूमिकालाई लिएर दर्शकहरुले सामाजिक सञ्जालमा राम्रै मजाक उडाए । उनले आफ्नो फेसबुकमा बारम्बार आगामी दिनहरुमा राम्रा चलचित्रमा काम गर्ने बचन भने दिइरहिन् । भने जस्तो पारिश्रमिक पाइहाले चलचित्रमा काम गरिहाल्ने परिपाटी अहिले प्रियंकामा पनि विस्तारै हावी भइरहेको देख्न सकिन्छ । लगातार एकपछि अर्को चलचित्रमा अनुबन्धित भईहाल्ने, सम्बन्ध राख्नका लागि पनि काम गर्ने बानी विस्तारै उनकै लागि घातक बन्दै त छैन ? भन्ने बहसले पनि नेपाली सिनेवृत राम्रै तात्न थालेको छ ।
कसैलाई हातमा एउटा चलचित्र नपरेर तनाब तर प्रियंकालाई भने लगातार एकपछि अर्को चलचित्रमा हात पर्दा विस्तारै भएको क्रेज पनि गुम्दै जाने त होइन भन्ने डरले राम्रै पिरोल्न थालेको छ । प्राय हप्ता जसो नै प्रियंका नयाँ चलचित्रमा अनुबन्धित भईन भन्ने खबरहरुले कतै उनका फ्यानहरु रुष्ट त हुँदै आएका छैनन् ? अब यता तिर पनि ध्यान दिए प्रियंकालाई भोलीका दिनमा आफ्नो स्टारडम जोगाइराख्न पनि सजिलो हुने देखिन्छ ।