भदौ ३० गतेबाट प्रदर्शनमा आउन लागेको पल शाह र आँचल शर्मा अभिनित फिल्म ‘जोनी जेन्टलम्यान’को ट्रेलर रिलिज गरिएको छ। पहिला जेठ १९ लाई आफ्नो रिलिज डेट तय गरे पनि उक्त मितिमा फिल्म प्रदर्शन नगरी फिल्मलाई भदौ ३० मा प्रदर्शनमा ल्याउन लगिएको हो। फिल्मले देशको राजनीतिक अवस्थालाई मध्यनजर गर्दै फिल्मको रिलिज डेट सारेको थियो।
फिल्म प्रचार प्रसारमा व्यस्त रहेको निर्माण युनिटले सोमबार ट्रेलर सार्वजनिक गरेको हो। सार्वजनिक ट्रेलरमा पल र आँचलको प्रेमदेखि पलको एंग्री लुक्स देख्न सकिन्छ। नितिन चन्दले निर्देशन गरेको उक्त फिल्ममा एनड्रिउ पौडेल र अजय मल्लको लगानी रहेको छ। फिल्ममा रुपेश थापा र रामशरण उप्रेतीको छायाँकन, पारस विक्रम शाह र देव महर्जनको द्धन्द्ध, केशव थापा र प्रविन सिंहको नृत्य निर्देशन रहेको छ।
यसै वर्ष प्रदर्शनमा आएको सफल फिल्म ‘म यस्तो गीत गाउँछु’मा अभिनय गरेका पलले आफ्नो छुट्टै क्रेज बनाइसकेका छन्। विशेष गरि युवा दर्शकले पलको फिल्म ‘जोनी जेन्टलम्यान’को प्रतिक्षामा छन्। पलको अघिल्लो फिल्म हिट भएका कारण पनि ‘जोनी जेन्टलम्यान’ले बक्सअफिसमा सकारात्मक नजिता ल्याउन सक्ने अनुमान लगाउन सकिन्छ।