काठमाडौं । नायिका, निर्मात्री तथा निर्देशक रेखा थापा फिल्म ‘मालिका’को लागि यतिबेला जाजरकोटमा छायांकनमा व्यस्त छिन् । केहीदिनदेखि अघि मात्र उनले जाजरकोटको दरबार परिसरमा झण्डै सय कोरससँग कम्मर मकाईन् ।
काठमाडौबाट छायाँकन सुरु गरेर रेखा फिल्म युनिटसँगै कोहलपुर हुँदै जाजरकोट पुगेकी हुन् । रेखाका अनुसार अबको दश दिनमा फिल्मको सम्पूर्ण छायांकन सकिनेछ । जिल्लाको स्थानीय भेषभुषा र संस्कृति झल्किने मेलाको दृश्य बनाएर गीत खिचिएको छ । गीतमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।
सुरेश अधिकारीको संगीत रहेको लोक लयको गीतले दर्शकको मन जित्नेमा रेखा ढुक्क छिन् । जीवन रुपान्तरणका विश्व प्रशिक्षक नरबहादुर कार्कीको परिकल्पनामा तयार भएको फिल्मको विषयवस्तु महिला हिंसा र बालबिवाहमुक्त नेपाल निर्माणको अभियानमा केन्द्रित छ । मालिकामा रेखा र जाजरकोटकी चौध वर्षिय कमला ओली मुख्य भूमिकामा छन् । फिल्म आगामी लक्ष्मीपुजामा रिलिज हुनेछ ।