चलचित्र नालापानीको सम्पादनकार्य सुरु भएको छ । तीन महिना लगातार छायांकनपछि चलचित्रको बिजिबी इन्टरनेशनलमा सम्पादन सुरु गरिएको हो ।
सम्पादनसँगै भिएफएक्सको काम पनि भईरहेको छ । भिएफएक्सको अधिक प्रयोग हुने यस चलचित्रका सम्पूर्ण दृश्य छायांकनमा चलचित्रका सम्पादन टीम तथा भिएफएक्स टीम सँगै रहेर काम गरेका थिए ।
नालापानीको छायांकन आफूले सोचे जस्तै भएको र यो चलचित्र नेपाली चलचित्र फाँटमा एक उदाहरणिय बन्ने निर्देशक रिमेश अधिकारीले बताए । ‘हरेक नेपालीले गर्व गर्न लायक चलचित्र बन्नेमा म बिश्वस्त छु’ अधिकारीले भने, ‘नेपाली सेनाले समेत खुलेर चलचित्रलाई सहयोग गर्यो, नभए २०४ बर्ष अघिको इतिहास बनाउन एकदमै कठिन थियो’ । निर्देशक अधिकारीले सफलतापूर्वक छायांकनमा सहयोग गर्ने सहयोगीहरु तथा वीर विभुती भलभद्र कुँवर प्रतिष्ठान, इतिहास विद प्रा.दिनेश राज पन्थ, डा.सुरेन्द्र केसी, डा. त्रिरत्न मानन्धर, डा.प्रेम सिंह बस्न्यात, प्रा.डा.धनबहादुर कुँवर, प्रा. रामराजा कुँवरलगायत प्रति आफु कृतज्ञ रहेको बताए ।
नयाँ बर्ष २०७६ मा प्रदर्शनको लक्ष्य लिईएको यो चलचित्र विभिन्न ऐतिहासिक स्थानहरुमा छायांकन भएको छ । नालापानीमा ऐतिहासिक स्थानहरुको दृश्य आवश्यक रहेकोले जोखिम मोलेरै भएपनि तो स्थानहरुमा छायांकन गरेको चलचित्रका निर्माता मनोज शाक्यले बताए ।
हाल भारतमा अवस्थित देहरादुनको नालापानीमा सन् १८१४ मा नेपालले ब्रिटिश साम्राज्यविरुद्द नेपालले युद्द लडेको थियो । आफ्नो साम्राज्य विस्तार गर्दै भारतसम्म आइपुगेको तत्कालिन ब्रिटिश इष्ट इन्डिया कम्पनीले नेपालमा आफ्नो अधिपत्य कायम गर्न अघि बढेको समयमा त्यसलाई रोक्न नेपालले युद्द लड्नुपरेको थियो ।
त्यो समयमा नेपालमा पर्ने नालापानी आइपुगेको अंग्रेज सेनासँग नेपाली सेनाको मुठभेड भयो । तत्कालिन वीर गोरखाली सेना कप्तान बलभद्र कुँवरको नेतृत्वमा नेपालले अंग्रेजसँग बहादुरीपूर्वक लडाइँ लडेको थियो ।
कमजोर सैन्य शक्ति, प्रविधि आदिका कारण उक्त लडाइँमा नेपालले विजय प्राप्त गर्न सकेन तर, नेपालले युद्दमा प्रस्तुत गरेको वीरता तत्कालिन शत्रुपक्ष र विश्व सैन्य इतिहासमै र हालसम्म पनि उच्च प्रशंसित भयो । उक्त लडाईँ नेपाली सेनाले तीन पटकसम्म जितेको थियो तर अंग्रेज फौजले चलाखी गरेर हराएको थियो । अंग्रेजले पानीको मुहान थुनिदिएपछि पनि लामो समय लडाईँ गर्दा गर्दै नेपाली सेना पछाडी हट्न बाध्य बनेको थियो ।
यसै बिषयमा आधारित रहेर प्राचार्य रामराजा कुँवर र प्रा. डा. धनबहादुर कुँवरले लेखेको ऐतिहासिक पुस्तक ‘वीर बलभद्र कुँवर’मा आधारित ‘नालापानी’ बनिरहेको हो ।
‘नालापानी’मा देव गुरुङ्ग, देशभक्त खनाल, अर्जुनजंग शाही, मनोज शाक्य, बिशाल पहारी, बिजय बिष्फोट, पुजना प्रधान, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, जनक बर्तौला, विशाल पहारी, गीता अधिकारी, गीता बिष्ट, प्रनिश शाक्य, महाविर विश्वकर्मा, सुस्मा भट्टराई, डेभिड खड्का, अर्पण श्रेष्ठ, कोनिका घिमिरे, लक्ष्मिनाथ तिमिल्सिना, सरीता राजपोध्यायलगायतका कलाकारहरुको अभिनय रहनेछ ।
पद्मा कुमारी फिल्मस प्रा.लि. र गंगानारायण फिल्मस् प्रा.लि.को संयुक्त ब्यानरमा बन्ने यस चलचित्रमा मनोज शाक्य निर्माताको रुपमा रहेका छन् । चलचित्रको लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन् । रोशन श्रेष्ठ चलचित्रका द्वन्द्व निर्देशक हुन् । बिपिन मल्लले सम्पादन तथा अच्युत गजुरेलले भिएफएक्स गर्ने यस चलचित्रलाई रामशरण उप्रेतीले छायांकन गरेका हुन् ।