असार २७ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको फिल्म‘सानो मन’ टीमले प्रचार-प्रसारलाई प्रभावकारी बनाउन कुनै कसर बाँकी राखेको छैन। टीमले राजधानीदेखि मोफसलसम्म फिल्मको प्रचार भ्याइसकेको छ। म्यूजिकल लभस्टोरीमा निर्मित फिल्मले बक्सअफिसमा राम्रो व्यापार गर्ने अनुमान गरिएको छ।
यसैबीच फिल्मले एक कन्टेस्टको घोषणा गरेको छ। यस फिल्मको शिर्ष गीत गाएको भिडियो पठाउने मध्ये उत्कृष्ट एक जनाले गायक रोहितजोन क्षेत्रीसँग गीत गाउन पाउनेछन् भने उक्त गीतको भिडियो पनि ‘सानो मन’ टीमले निर्माण गर्नेछ। निर्णायकमा गायक क्षेत्री स्वयं छन्। नयाँ प्रतिभालाई प्रोत्साहन गर्न यो कन्टेस्टको घोषणा गरिएको बताईएको छ।
शिर्ष गीतमा रोहित जोन क्षेत्रीको स्वर तथा स्वप्निल शर्माको शब्द छ। सुयोग सोताङ्गले संगीत भरेका छन्। युट्युबमा यस गीतको भिडियोलाई दर्शकले निकै रुचाएका छन्।
सुयोग गुरुङको निर्देशनमा बनेको यस फिल्ममा आयुष्मान देशराज जोशी, शिल्पा मास्के, सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्ट, देव कुमार श्रेष्ठ लगायतका कलाकारहरुको पनि अभिनय छ। सुयोग गुरुङ र मिलन श्रेष्ठले सम्पादन गरेका छन्।
‘ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्ट’को संयुक्त ब्यानरमा यो फिल्म निर्माण भएको हो। समिर सुनुवार र निर्देशक गुरुङको संयुक्त लेखन रहेको ‘सानो मन’ लाई आलोक शुक्लाले छायांकन गरेका छन्। यस फिल्मका निर्माताहरू योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धर हुन्।