निर्देशक मिलन चाम्स अहिले नयाँ फिल्म निर्देशनको तयारीमा छन्। उनले निर्देशन गर्ने फिल्मको नाम ‘गोर्खा वारियर’ राखिएको छ। मंहगो बजेटमा निर्माण हुने यस फिल्मलाई हलिउड फिल्म भनिएको छ।
फिल्मको लागि नेपालबाट दयाहाङ राई, वर्षा सिवाकोटी, प्रशान्त तामाङ, विजय लामा, बुद्धि तामाङ, मावोत्से गुरुङ, रितेश चाम्स लगायतको मुख्य भूमिका रहने छ। निर्देशक चाम्सका अनुसार यस फिल्ममा हलिउडका केही कलाकारहरुको पनि अभिनय रहने छ।
प्रदीप भारद्वाजले लेखेको यस फिल्मले गोखाली सेनाहरुको वास्तविक कथालाई प्रस्तुत गर्नेछ। संसार हल्लाउने गोर्खालीहरुको विषयमा केन्द्रित हुने फिल्ममा विदेशी भूमिका पुगेर अर्काको देशको रक्षा गरिरहेका गोर्खालीलाई देखाइने छ।
‘लन्डन सिने आइ प्रोडक्सन’को व्यानरमा निर्माण हुन लागेको यस फिल्ममा ५० प्रतिशत टेक्निसियन हलिउडमा काम गरेका हुने छन्। फिल्म निर्माणमा निर्माण युनिटले ४ करोडको हाराहारी खर्च गर्ने हुने अनुमान गरेको छ। फिल्मको छायांकन केहि महिनापछि सुरु हुने छ।