३५ वर्षअघिको प्रदीप रिमाल निर्देशित फिल्म ‘के घर के डेरा’ को नाम सापटी लिएर सुव्रतराज आचार्यले निर्देशन गर्ने फिल्मको औपचारिक निर्माण घोषणा गरिएको छ। सोमवार राजधानीमा एक कार्यक्रमका बीच निर्माण टिमले ‘कास्ट एण्ड क्रू’ सार्वजनिक गर्दै फिल्मको घोषणा गरेको हो। फिल्ममा भर्सटायल अभिनेताद्वय दयाहाङ राई र विपिन कार्कीको अभिनय रहने भएको छ।
यसअघि उनीहरुले फिल्म ‘जात्रै जात्रा’ मा सँगै काम गरेका थिए। शुभ लाभ फिल्मस् र ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने ‘के घर के डेरा’ मा अभिनेत्री वर्षा राउतको पनि अभिनय रहनेछ। दयाहाङ र विपिनसँग उनले यसअघि ‘जात्रै जात्रा’ मा स्क्रिन साझेदार गरेकी थिइन्। फिल्ममा लुनिभा तुलाधर, रविन्द्र झा, आर्सिना भट्टराईलगायत कलाकारको पनि अभिनय रहनेछ।
‘के घर के डेरा’ मा राजिव श्रेष्ठ र किरण महर्जन निर्माताको रुपमा रहनेछन् भने ताक्पा तामाङ (सिंगे लामा) कार्यकारी निर्मातामा छन्। त्यस्तै, यम प्रसाद ओली सह-निर्मातामा रहेका छन्। ‘हरि’ फिल्मका निर्देशक सफल केसी र प्रतिक गुरुङको पटकथा रहेको फिल्मको कन्सेप्ट निर्माता सिंगे लामाको हो। सिंगेले यसअघि ‘जात्रा’, ‘जात्रै जात्रा’ र ‘हरि’ फिल्म निर्माण गरिसकेका छन्।
काठमाडौंमा कोठा भाडामा लिएर बस्नेहरुको कथामा आधारित भएर निर्माण हुने फिल्मलाई दिर्घ वीर गुरुङले खिच्ने जिम्मेवारी पाएका छन्। यस्तै, मित्र डि. गुरुङको सम्पादन रहने फिल्ममा शंकर थापा ‘स्माइल’ को संगीत तथा गायन, डिपी खनाल तथा सुब्रत राज आचार्यको गीत, उदयराज पौडेलको एरेञ्ज र गम्भीर विष्टको कोरियोग्राफी रहनेछ। फिल्मलाई रोहित-रत्न (आरआर) ले वितरण गर्दैछन्।
‘के घर के डेरा’ निर्देशक आचार्यको तेस्रो प्रोजेक्ट हो। यसअघि उनले ‘अर्धकट्टी’ र ‘सुश्री सम्पत्ति’ निर्देशन गरेका थिए भने दर्जनौँ हिट गीतको भिडियो समेत निर्देशन गरेका छन्। उनले अघिल्ला फिल्ममा आफूबाट भएका कमी कमजोरी यो फिल्ममा सुधार गर्ने बताए।
त्यस्तै, अभिनेताद्वय दयाहाङ र विपिनले फिल्मको कथा र आफ्नो भूमिका मन परेका कारण काम गर्न राजी भएको बताए। अभिनेत्री वर्षाले फिल्मलाई लिएर आफु उत्साहित रहेको बताइन्।