चैत २८ गते रिलिज हुन लागेको प्रतिक्षित चलचित्र फिल्म ‘प्रेमगीत ३’ को पहिलो गीत सार्वजनिक भएको छ। मंगलबार फिल्ममा समावेश ‘हात्ती ढुंगामा’ बोलको गीत सार्वजनिक गरिएको हो।
कल्याण सिंहको संगीतमा तयार भएको गीतमा हर्क साउदले शब्द भरेका छन्। सागर आले र मेलिना राईले स्वर दिएको यस गीत अहिले चलिरहेका गीतहरु भन्दा फरक शैलीमा तयार गरिएको छ।
सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य कलाकार प्रदीप खड्का, क्रिस्टिना गुरुङ, सुनिल थापा, माओत्से गुरुङ फिचर भएका छन्। कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा सयभन्दा बढी कोरस राखेर खिचिएको छ। मनाङमा खिचिएको भिडियोमा कलाकारहरुलाई पनि त्यहीँको लोङ्कल पोशाकमा प्रस्तुत गरिएको छ।
सन्तोष सेनले निर्माण गरेको यस फिल्मलाई निर्माता सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गरेका छन्। फिल्ममा शिव श्रेष्ठ, अनुभव रेग्मी, लक्ष्मी बर्देवा, सन्तोष सेन, प्रेम पुरी, मनिष राउतलगायतको पनि अभिनय छ।
चन्द्र बहादुर चन्द र डम्बर विक्रम सेन कार्यकारी निर्माता रहेको फिल्ममा कुमार शान शाह र ओएसआर डिजिटल सह-निर्माता बनेका छन्। छेतेन गुरुङ र मन्दिप गौतमको लेखन रहेको फिल्मलाई राजेश श्रेष्ठले खिचेका हुन्।