
काठमाडौं । हास्य कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठले मानिसले सधैं एउटै नेतालाई हेर्न नचाहेको बताएका छन् । बालबालिकाको डान्स रियालिटी शो ‘नेसन्स गट ट्यालेन्टः राष्ट्रको प्रतिभा, सिजना २’मा अतिथी बनेर पुगेका उनले यो कुरा बताएका हुन् । आसन्न प्रतिनिधिसभा चुनावपछि होश भएका र जोश भएकाहरु मिलेर अगाडि बढ्नु पर्नेमा उनको जोड थियो ।
भक्तपुरकी जलाधी खड्काले जेनजी प्रदर्शनको समयमा प्रहरीमाथि भएको आक्रमण, धनजनको क्षति तथा त्यसपछि भएका आपराधिक र असामाजिक गतिविधिको रोकथाम गर्न प्रहरी नै अघि बढेको विषयमाथि प्रस्तुत गरेको मार्मिक अभिनयात्मक नृत्य प्रस्तुतिपछि मदनकृष्णले प्रहरीबीना समाज र देश अगाडि बढ्न नसक्ने बताए । ‘जनताले सधैँ एकै नेतालाई हेर्न चाहेका छैनन् । अस्तिको जेनजी आन्दोलनले नेपाललाई नयाँ मोडमा ल्याईदिएको छ । समय बलवान् छ । अब चुनावबाट आउनेहरु जोश हुनेहरुसँग होश नहुन सक्छ, होश हुनेसँग जोश नहुन सक्छ । अब होश भएको र जोश भएकाहरु मिलेर अगाडि बढ्यो भने राम्रो हुन्छ ।’
शोकी वरिष्ठ निर्णायक तथा अभिनेत्री मिथिला शर्माले त्यो मानविय स्वभाव भएको बताइन् । ‘यो मानविय स्वभाव हो मदन दाई । दिनमात्र पनि हामी सहन सक्दैनौँ । दिनै दिनमात्र पनि हामीलाई चाहिँदैन, रातै रात पनि हामीलाई चाहिँदैन । हामीलाई मिर्मिर बिहानी पनि चाहिन्छ, गोधुली साँझ पनि चाहिन्छ’, उनले भनिन् ।
जलाधीले प्रहरीको भूमिकाका साथ प्रस्तुत गरेको नृत्यमा अतिथी निर्णायक मदनकृष्ण श्रेष्ठका साथमा नियमित निर्णायकहरु अभिनेत्रीद्धय मिथिला शर्मा र नीता ढुंगाना तथा छमछमी नृत्य प्रतियोगिताका विजेता सरोज प्रजा चारैजनाले स्ट्यान्डिङ अबिएसन दिएका थिए ।
नेशन्स् गट ट्यालेन्ट राष्ट्रको प्रतिभा, सिजन २ मा अभिनेत्रीद्धय मिथिला शर्मा र नीता ढुंगाना तथा छमछमी नृत्य प्रतियोगिता विजेता निर्णायक रहेका छन्। नेशन्स् गट ट्यालेन्ट हरेक आईतवार साँझ ६ बजे स्पेस फोके टेलिभिजन र ७ बजे ओएसआर रियालीटी युटुयुब च्यानलमा प्रसारण भईरहेको छ। शो उत्कृष्ट ५ को चरणमा प्रवेश गरेको छ ।
शो एएनपी मिडियाको व्यानरमा लबबहादुर कार्कीको निर्माण र निर्देशनमा तयार भईरहेको छ। शोमा प्रनिमा दाहाल उद्घोषिका रहेकी छन् ।







