
काठमाडौं । हाल प्रदर्शरत फिल्म ‘बिगुल’ को प्रदर्शन स्थगित भएको छ । निर्माण कम्पनी म्याग्नोलिया ग्रुप प्रालिले विज्ञप्ति जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्म प्रदर्शन रोक्ने निर्णय गरेको जनाएको छ ।
ग्रुपका अध्यक्ष सूर्यकान्त कोइरालाले एक विज्ञप्ती जारी गर्दै अर्को सूचना जारी नभइञ्जेलसम्मको लागि प्रदर्शन हाललाई स्थगित गरिएको जनाएका छन् । विज्ञप्तीमा निर्वाचनको संवेदनशिल अवस्थालाई ध्यानमा राखेर सम्बन्धितको निकायको सुझाव तथा परिस्थितीको मूल्यांकन पश्चात निर्णय लिइएको बताइएको छ ।
‘यसबाट दर्शकवर्ग तथा सम्बन्धित सबैमा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं । यस चलचित्रलाई प्रत्यक्ष गएर हेरिदिनुभएका आमदर्शक, कलाकार, प्राविधिक, पत्रकार, अतिथिज्यू सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छौं’ विज्ञप्तिमा भनिएको छ ।
दिनेश कोइरालाको निर्माण र रमेश कोइरालाको निर्देशन रहेको फिल्ममा नरेन खड्का, बेनिशा हमाल, रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल, विनोद न्यौपानेलगायतका कलाकारको अभिनय थियो ।






