चलचित्र ‘जात्रा’ कार्तिक २६ देखि प्रर्दशनमा आउँदैछ । चलचित्रमा पशुपतिप्रसादका विपीन कार्की (भष्मे डन), रविन्द्रसिंह बानीयाँ (हनुमानजी) फरक भूमिकामा देखिएका छन् । यस्तै, वर्षा राउत, प्रेक्षा बज्राचार्य, रबिन्द्र झालगायतको पनि चलचित्रमा मुख्य भूमिका रहेको छ । मह सञ्चारमा १२ वर्षदेखि काम गर्दै आएका प्रदिप भट्टराईले चलचित्र निर्देशन गरेका हुन् । निर्माणपक्षले केही दिन अगाडी मात्र चलचित्रको प्रचार प्रसारलाई आक्रामक बनाउने क्रममा ‘हजार समाऔँ, लाख कमाऔँ’ अफर सार्वजनिक गरेको थियो । जसमा चलचित्रकी हिरोइनसँग डेटिङ देखी स्कुटर उपहारसम्म राखिएको थियो । जसमध्ये केही दिन अगाडी मात्र नायिका वर्षा राउतले डेटिङ अफर बिजेता प्रदिप पौडेलसँग समय बिताएकी थिइन् । महाबौद्ध काठमाण्डौँका प्रदिपले चलचित्र प्रोमोशन ताका ‘हजार समाऔँ, लाख कमाऔँ’ अफर अन्तरगत वर्षासँग भेट्ने अवसर पाएका थिए। अफर अन्तरगत चलचित्रकी अर्की नायिका प्रेक्षा बज्राचार्य, बिपिन कार्कीलगायतसँग डेट जाने चान्स बाँकी नै रहेको निर्माता एवं कलाकार रबिन्द्रसिंह बानीयाँले जानकारी दिएका छन् ।
योसँगै कात्तिक २४ गते हुने प्रिमियरमा हजारको नोट समाएर फेसबुकमा सेयर गर्ने पाँच जना दर्शकलाई बम्पर उपहार प्रदान गर्ने जात्रा टोलीको योजना छ । जसमध्ये एकजनालाई स्मार्ट फोन, एक जोडीलाई पोखरा र अर्को एक जोडीलाई सौराहाको दुई रात तीन दिनको टुर प्याकेज दिइने बताइएको छ ।
यस्तै, एक जनालाई चलचित्रमा मुख्य कलाकार विपीन कार्कीले प्रयोग गरेको इलेक्ट्रोनिक स्कुटर उपहारस्वरुप प्रदान गरिनेछ भने अन्य पाँच जनालाई प्रिमीयरमा जात्रा हेर्ने टिकट प्रदान गरिनेछ । ‘जात्रा’ नेपाली चलचित्रको फेसबुक पेज लाइक गरेर दर्शकले अफर लिन सक्नेछन् ।