सीजी इन्टरटेन्मेन्टको प्रस्तुतीमा आयोजना हुन लागेको ‘लक्स कामना फिल्म अवार्ड २०७३’ को मिति फाइनल गरिएको छ । यसअघि उत्कृष्ट ५ मनोनयन सार्वजनिक गरेको सीजी इन्टरटेन्मेन्टले मंसीर १८ गते शनिबार भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा अवार्ड आयोजना गर्ने जानकारी दिएको छ ।
यस बर्षको कामना अवार्डमा चलचित्र ‘नाई नभन्नु ल ४’ सर्वाधिक २१ विधाको मनोनयमा परेको छ भने ‘प्रेमगीत’ १९, ‘क्लासिक’ १७, ‘ड्रिम्स’ १६, ‘वडा नम्बर ६’ १४ र ‘पशुपतिप्रसाद’ १२ विधामा मनोनयनमा परेको छ ।
त्यस्तै उत्कृष्ट नायकको विधामा ‘पशुपतिप्रसाद’ बाट खगेन्द्र लामिछाने, ‘क्लासिक’ बाट आर्यन सिग्देल, ‘कबड्डी कबड्डी’ बाट दयाहाङ राई, ‘ड्रिम्स’ बाट अनमोल केसी र ‘फन्को’ बाट सौगात मल्ल मनोनयनमा परेका छन् । अभिनेत्रीको मनोनयनमा भने प्रेमगीतबाट पूजा शर्मा, भाग सानी भागबाट केकी अधिकारी, फागुबाट शील्पा पोखरेल, वडा नम्बर ६ बाट प्रियंका कार्की
र क्लासिक नम्रता श्रेष्ठ परेका छन् । यस पटक लक्स पपुलर च्वाईस अवार्डसहित ३२ विधामा ‘लक्स कामना फिल्म अवार्ड २०७३’ प्रदान गरिनेछ । त्यस्तै कामना अवार्डले २ जना चलचित्रकर्मीलाई चलचित्र क्षेत्रमा पुर्याेएको योगदानको आधारमा दीर्घ योगदान सम्मान प्रदान गर्दैछ ।