ललितपुर च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवन । विहान ठीक १० बजेको समय । कालो डायरी र कलम बोकेका ३५ भन्दा बढीका संख्यामा रहेका कमरेडहरु हलभित्र प्रवेश गर्दैछन ।
नेपाल कम्युनिस्ट पार्टीका पूर्व महासचिव तुलसीलाल अमात्यको स्मृतिमा स्थापना गरिएको भवनमा हिजोआज यस्तो दृश्य नियमित देखिन्छ ।
गत साउन यता पार्टीको स्कुल विभागले एमालेका नेता र कार्यकर्ताहरुका लागि प्रशिक्षण सञ्चालन गर्दै आएको छ । नेता कार्यकर्ताहरुमा पठन संस्कृतिको विकास गर्न र हरेक विषयमा अपडेट रहन कक्षा सञ्चालन गरिएको एमाले स्कुल विभागका उपप्रमुख तथा स्थायी कमिटी सदस्य शंकर पोखरेलले जनाए ।
‘समाज, अर्थतन्त्र, साहित्य, संस्कृति जस्ता कुराहरुको जानकारी भएन भने समाजको नेतृत्व गर्न सकिदैन। राजनीतिक पार्टीहरुले सबैभन्दा पहिले समाजलाई बुझ्न सक्नुपर्छ’,
स्कुल विभागले तल्लो तहका कमिटीहरुले प्रशिक्षण सञ्चालन गर्न सक्नेगरी प्रशिक्षण विधिसहितको पाठ्यपुस्तक निर्माणको तयारी समेत गरेको छ । शुल्क लिएर पढाई प्रशिक्षणमा विभिन्न १८ वटा विषयवस्तु प्याकेजिङ गरिएको छ । प्रशिक्षण तालिमका लागि फाराम भरेर फोटो टाँस्नुपर्छ। यसको बिहानी कक्षामा सहभागी हुन एक हजार रुपैयाँ र दिवा कक्षाका लागि पाँच सय रुपैयाँ बुझाउनुपर्छ ।
तालिममा विषय अनुसार एकदेखि डेढ घण्टासम्मका कक्षा हुदै आएको छ ।अनेरास्वियुबाट सुरु गरिएको पार्टी स्कुलमा अहिलेसम्म सात वटा समूहले पढाइ पुरा गरिसकेका छन् । हाल यहाँ एमाले पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालका केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यहरुले अध्ययन गरिरहेका छन।
अनेरास्वियुबाट सुरु भएको कक्षा युवा संघ नेपाल, अखिल नेपाल जनसांस्कृतिक महासंघ, अनेमसंघ, मुस्लिम स्तेहाद संगठन, पार्टी स्कुल विभाग र जनसंगठनका प्रशिक्षण विभागका प्रमुखहरु सहितको समूह, पार्टीका वैकल्पिक केन्द्रीय सदस्यहरुको समूहले पढाइ पूरा गरिसकेका छन् ।
एमालेको स्कुलमा पढाउनेमा एमले नेता र विषय विज्ञ दुबै छन् । पार्टी सचिव प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, शंकर पोखरेल, पुरुषोत्तम न्यौपाने, गोपीरमण उपाध्याय, ईश्वरी रिजाल, तत्व तिमल्सिना, घनश्याम कोइराला, रविन्द्र अधिकारी, युवराज खतिवडा, विमला राई, राजन भट्टराई, लालबाबु पण्डित लगायत ३० जनाले नियमित प्रशिक्षण दिँदै आएका छन। -एस काठमाडौं