२०१६ मा बलीउडस्टार सलमान खानको ‘सुल्तान’ लाई नेपाल ल्याउनका लागि गोपिकृष्ण मुभिजले ३ करोड २० लाख तिर्यो । यो रकम त्यसभन्दा अगाडी कुनै पनि बलीउड चलचित्र नेपाल ल्याउनका लागि तिरिएको थिएन तर आमिर खानको ‘दंगल’ ले त्यो रेकर्ड तोड्यो । गोपिकृष्ण मुभिजले आमिरको चलचित्र ‘दंगल’ नेपाल ल्याउनका लागि ४ करोड नेपाली रूपयाँ अग्रिम बुझाएर कमिशनको आधारमा नेपाल ल्याएको थियो। यसले नेपालमा सलमान र आमिरको फ्यान कति छन् भन्ने स्पष्ट पार्छ । यी दुवै चलचित्रले नेपाली बजारमा राम्रै छापे । यस्तै यही शुक्रबारबाट बलीउडका दुई प्रतिक्षित चलचित्र एकसाथ हलमा लाग्दैछन् । ति हुन शाहरुख खान अभिनित चलचित्र ‘रईस’ र ऋतिक रोशन अभिनित चलचित्र ‘काबिल’ । बलीउडका दुई सुपरस्टारको चलचित्र ‘रईस’ र ‘काबिल’ नेपाल ल्याउन गोपीकृष्ण मुभिजले कुल ४ करोड ४० लाख तिरेको छ । यो रकम यी दुई चलचित्र नेपालमा प्रदर्शन गर्न गोपीकृष्ण मुभिजले किनेको हो । गोपीकृष्ण मुभिजका फिल्म वितरण प्रमुख निरज पौडेलका अनुसार, शाहरुख खानको ‘रईस’ लाई २ करोड ४० लाख तिरिएको छ भने ऋतिक रोशनको ‘काबिल’ लाई २ करोड । दुई चलचित्रलाई मिनिमम ग्यारेन्टी (एमजी) मा नेपाल राइट किनिएको हो । यस प्रावधान अनुसार नेपालमा दुई चलचित्रले व्यापार गरे पनि नगरे पनि अब गोपीकृष्ण मुभिजले उक्त रकम ती चलचित्रका निर्मातालाई बुझाउनुपर्ने हुन्छ। आम्दानी भने नाफाको आधारमा बाँडिनेछ।