गएको शनिबार साँझ नेपाल रुपन्देहीकी चर्चित डान्सर तेरिया फौजा मगरले ठूलो सफलता हात पारिन् । त्यो थियो ‘झलक दिखला जा’ को उपाधि । झलकको ट्रफीसँगै ३० लाख भारु नगदसहित एक कार समेत जितेकी तेरिया अहिले नेपालकी मात्र होइन भारतकी समेत प्रिय छोरी बनेकी छिन् । फिनालेमा १४ बर्षकी तेरियाले सलमान युसुफ खान र शांतनु माहेश्वरीलाई टक्कर दिँदै झलकको ट्रफी जितेपछि भारतका अधिकांश पत्रिका, टेलिभिजन र अनलाइनहरुले ‘नेपालकी तेरियाले जितिन् झलकको ट्रफी’ भन्दै समाचार बनाए । यो समाचार पढ्दा र सुन्दा सायद को नेपाली खुसी थिएन होला र ? यसअघि रियालिटी शो ‘डान्स इंडिया डान्स’ को समेत उपाधि चुमेकी तेरियाको दैनिकी अब नेपाली आँखाले देखे जस्तो सामान्य छैन् । बलीउडका सुपरस्टार कलाकारहरुको नजरमा राम्रै परिसकेकी तेरिया चाँडै बलीउड फिल्म इन्ड्रष्ट्रिमा ईन्ट्री गर्दैछिन् । यो कुरा उनी स्वयमले बताएकी हुन् । झलकको ट्रफी जितेपछि उनले आफु भविष्यमा बलीउड फिल्ममा काम गर्ने बताएकी थिइन । यति मात्र कहाँ हो र ? झलकको ग्राण्ड फिनालेमा अतिथी बनेका बलीउडका सुपरस्टार ऋतिक रोशनले समेत उनलाई आफ्नो फिल्ममा काम गर्न अफर गरेका थिए । केही भारतीय अनलाइनहरुले त तेरियाले बलीउडमा डेव्यू नै ऋतिककै फिल्मबाट गर्ने समेत लेखेका छन् । अब यो त समयले देखाउँला कि तेरियाको पहिलो डेव्यू फिल्म ऋतिकसँग हुनेछ वा अन्य बलीउडका सुपरस्टारसँग । तर, उनलाई बलीउड अभिनेत्री सोनाक्षी सिन्हासँग भने काम गर्न खुबै रहर लागेको छ । झलकको ट्रफी जितेपछि उनले भनेकी थिइन, ‘मलाई सोनाक्षी सिन्हा खुबै मन पर्छ । यदी अवसर मिल्यो भने सोनाक्षी सिन्हासँग काम गर्नेछु ।’
तेरियाको सौख हो डान्स गर्नु । उनले ‘झलक दिखला जा’ शो मा वाइल्ड कार्ड इन्ट्री पाएकी थिइन । कसले सोचेको थियो र तेरियाले भारतको सर्वाधिक महंगो राशि भएको झलकको ट्रफी जित्छिन् भनेर । तर, उनको डान्सका फ्यानहरु यति थिए कि जसले उनलाई नै झलकको विजेता बनायो । भारतीय अनलाइन आजतकले ‘तेरिया ने जो सपना देखा, उसे सच कर दिखाया’ हेडलाइन राख्दै तयार पारेको समाचारमा तेरियाले भनेकी छिन्, ‘सधै सपना ठूलो देख्नु पर्छ अनि मात्र पूरा हुन्छ ।’