अनौठो होइन एउटा नायक कुनै यूवतीको प्रेममा रहनु । तर, प्रेम सम्बन्धको विषयमा खुलेर बोल्न नचाहने नायक सौगात मल्ल आफु नायिका सृष्टि श्रेष्ठसँगको प्रेममा पागल भएको कुरा बताउँदा उनका फ्यानहरुलाई पक्कै अनौठो लागिरहेको होला । केही महिना अगाडी सृष्टि र सौगात एकअर्काको हात समात्दै फिल्म हेर्न हल पुगेको खबरहरुले नेपाली मिडियाहरु तातिरहेको बेला शुक्रबार दिउँसो मण्डला थ्रिएटरमा नायक सौगात मल्ल आफ्नो प्रेम कथा मिडियालाई सुनाएर थाकेनन् । चलचित्र ‘डाइङ क्यान्डल’ को पत्रकार भेटघाट कार्यक्रममा सौगातलाई जब पत्रकारले सृष्टि श्रेष्ठसँगको अफेयर र ब्रेकअपको विषयमा सोधे तब सौगातले निर्धक्क भएर भने -‘म सृष्टिलाई माया गर्छु भन्ने कुरा सबैलाई थाहा छ र मैले बारम्बार भन्दै पनि आएको छु । म उनलाई कति माया गर्छु भन्ने कुरा शब्दमा भन्न सक्दिन र उनले पनि मलाई त्यतिक्कै माया गर्छिन । तर उनीसँग ब्रेकअप भएको भन्ने हल्ला चाहिँ गलत हो ।’
उनले सृष्टिसँग कुरा गर्नका लागि नै आफुले सिडिएमएको सिम प्रयोग गर्ने गरेको समेत बताए ।
यसबाट के स्पष्ट हुन्छ भने नायक सौगात मल्ल नायिका सृष्टि श्रेष्ठसँगको प्रेममा चुर्लुम्मै डुवेका छन् । पूर्व मिस नेपाल समेत रहेकी सृष्टिले यसै बर्ष नायक अनमोल केसी अभिनित चलचित्र ‘गाजलु’ मा काम गरेकी थिइन । चाँडै ‘मुना एण्ड रोमियो’ नामक चलचित्रमा व्यस्त हुन लागेकी सृष्टिले सौगातसँग चलचित्र ‘लालपूर्जा’मा समेत काम गरेकी छिन् । जुन चलचित्र अर्को बर्ष प्रदर्शनमा आउँदैछ । स्मरण रहोस्, सृष्टिभन्दा अघि सौगातको प्रेम मोडल सोनी केसीसँग पनि चलेको थियो ।