आफु अभिनित चलचित्र हिट हुँदा एउटा कलाकारको खुसी कतिसम्म हुन्छ होला सायद त्यो तपाई पनि कल्पना गर्न सक्नु हुन्छ । तर, नेपाली चलचित्रको इतिहासमा नै सर्वाधिक व्यापार गर्दै प्रदर्शनको सय दिन मनाउँदा १६ करोड खल्तीमा हालेको चलचित्र ‘छक्का पञ्जा’ हिट हुँदा नायिका नम्रता सापकोटाको ओठमा न मुस्कान छाएको छ न त मन नै गदगद भएको छ । होस् पनि कसरी हास्य कलाकारहरु दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ लगायतका कलाकारहरु एक तिर अनि अर्का तिर नाम चलेका दुई नायिका प्रियंका कार्की र बर्षा राउत । यति भएपछि जितु नेपाल उर्फ सरस्वतीलाई ‘मलाई तिम्रो टुप्पी मन पर्छ’ भन्ने नम्रतालाई कसले हेर्ने । सायद बर्षा र प्रियंकाको जस्तो दमदार भूमिका ‘छक्का पञ्जा’ मा भएको भए नम्रता तिर पनि दर्शकहरुले आँखा डुलाउने थिए होलान तर छोटो भूमिकामा देखिएकी नम्रतालाई दर्शकहरुले खासै वास्तै गरेनन् । हुनत, नम्रताको यो पहिलो चलचित्र भने होइन यसअघि उनले ‘अन्तराल’ र ‘ब्रासलेट’ लगायतका चलचित्रमा काम गरिसकेकी छिन् । तर हिट भने ‘छक्का पञ्जा’ मात्र भयो । हिट त भयो तर नम्रतालाई न त्यसको श्रेय गयो न ‘छक्का पञ्जा’ हिट हुँदा खुसी नै छायो ।
चलचित्र ‘छक्का पञ्जा’ मा नम्रता सापकोटाले जितु नेपालकी गर्लफ्रण्ड अर्थात विष्णुको भूमिका निर्वाह गरेकी थिइन । ‘छक्का पञ्जा’ हिट हुँदा पनि चर्चामा नआएकी नम्रतालाई अबको बाटो हिँड्न कति सजिलो होला त्यो भने भोलीका दिनहरु कुर्नुको अरु विकल्प नै छैन ।