एभिन्यूज पिक्चरले निर्माण गरेको चलचित्र ‘लामा ला’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा एक बौद्ध भिक्षु नेपालका विभिन्न ठाउँहरुको यात्रामा निस्किएको देखाउन खोजिएको छ भने द्धन्द्धकालिन केही दृश्यहरु पनि ट्रेलरमा देखाउने प्रयास गरिएको छ । सस्पेन्स तरिकाले सार्वजनिक गरिएको ट्रेलर हेर्दा द्धन्द्धकालमा एक बौद्ध भिक्षुले गरेको देश दौडाहलाई प्रस्तुत गर्न खोजिएको अनुमान लगाउन सकिन्छ ।
प्राप्त खबर अनुसार चलचित्रले एक माओवादी छापामार र एक बौद्ध भिक्षुको कथा समेटेको छ । मनोज कुमार पन्त र निश्चल पौडेलले निर्देशन गरेको यो चलचित्रमा रवि कार्की, जीवन पुलामी, नितुसा खड्का, उमेश घोरासैनी लगायतका कलाकारहरुको अभिनय रहेको छ । निर्देशक पौडेलले दिएको जानकारी अनुसार यो फिल्म अक्टोबर २०१६ मा ‘ट्रायन अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ उत्तर क्यारोलिनामा यसको प्रिमियर हुने निर्धारित भइसकेको छ । त्यस्तै अन्तर्राष्ट्रिय बौद्ध मूलाधार चलचित्र महोत्सव र धेरै अन्य फिल्म महोत्सवहरुमा चलचित्र ‘लामा ला’ प्रदर्शन हुने निर्देशक निश्चलले जानकारी दिए ।