एउटा चलचित्रमा अनुबन्धित भएका कलाकारले पछि सोही चलचित्रबाट हात झिक्नु सामान्य हो । कसैलाई चलचित्रमा काम गर्ने निर्देशक देखी निर्माता राम्रो नलागेका कारण छोड्छन् त कतिले स्क्रिप्ट असुहाउँदो भएको भन्दै अनुबन्धित भएको चलचित्रबाट पनि हात झिक्ने गर्छन । तर, बलीउड चलचित्र ‘भुतनाथ’ निर्देशन गरेका बिबेक शर्माले निर्देशन गर्न लागेको नेपाली चलचित्र ‘मेरो पैसा खोई ?’ बाट नायिका बर्षा सिवाकोटीले हात झिक्नुले चाहिँ यति बेला सबैलाई अचम्मित बनाएको छ । शाहरुख खान, अमिताभ बच्चनलाई निर्देशन गरिसकेका बिबेकको नेपाली चलचित्रमा बर्षाले काम गर्न पाउनु नै आफैमा एउटा उपलब्धि थियो र यसले ओरालो लाग्दै गरेको आफ्नो करियरमा समेत ईट्टा थप्न मदद्त गर्नेमा उनी आफै पनि विश्वस्त थिइन । निर्देशकले अहिलेसम्म स्क्रिप्ट पढ्न नदिएको र अनुबन्धित गर्दा मुख्य कलाकारमा फाइनल गरेपनि पछि सह-नायिकामा काम गर्ने अफर आएपछि चलचित्र छोडेको बर्षाको दाबी छ ।
बर्षाका अनुसार, उनले निर्देशक बिबेक शर्मासँग स्क्रिप्ट मागेकी थिइन तर निर्देशकले फ्लोरमा गएपछि मात्र स्क्रिप्ट दिने बताएका थिए । नेपाली निर्माता रोज राणा कार्यकारी निर्माता रहने यो चलचित्रका लागि पहिला सुरुमा सौगात मल्ल र बर्षा सिवाकोटीलाई लीड कलाकारको रुपमा निर्माण पक्षले अनुबन्धित गरेको थियो । पछि, चलचित्रका निर्देशक बिबेक शर्माले ‘छक्का पन्जा’ की अर्की नायिका बर्षा राउतलाई लीड नायिकामा फाइनल गरेका थिए । स्रोतका अनुसार, चलचित्र ‘मेरो पैसा खोई ?’ मा बर्षा राउतलाई फाइनल गरेपछि बर्षा सिवाकोटी रुष्ट थिइन । बजारमा एकअर्काका प्रतिस्पर्धी मानिने यी दुई बर्षा मध्ये निर्माणपक्षले बर्षा सिवाकोटीलाई भने फायर गरिसकेको छ । खबरका अनुसार, बर्षा सिवाकोटीको ठाउँमा अब अर्की नायिका रहनेछिन् ।