आज शुक्रबारबाट दुई नेपाली चलचित्रले आफ्नो प्रदर्शन आरम्भ गरेका छन् । ‘भ्यालेन्टाइन डे’ लाई लक्षित गर्दै आज शुक्रबारबाट सौगात मल्ल स्टारर चलचित्र ‘डाइङ क्यान्डल’ र जीवन लुइँटेल र नीता ढुंगाना अभिनित चलचित्र ‘लेक साइड’ ले देशव्यापी प्रदर्शन सुरु गरेका हुन । मल्टिप्लेक्स लक्षित ‘डाइङ क्यान्डल’ र सिंगल हल लक्षित चलचित्र ‘लेक साइड’ को भिडन्त कस्तो रहने हो त्यसको नतिजा भने आजबाट नै थाहा हुनेछ । मल्टिप्लेक्समा भने चलचित्र ‘डाइङ क्यान्डल’ लाई आफ्नो लगानी सेभ गर्न मश्किल पर्ने देखिन्छ किनभने आज शुक्रबारबाटै बलीउडस्टार अक्षय कुमार अभिनित चलचित्र ‘जोली एल.एल.वी २’ प्रदर्शनमा आएको छ ।
राजु अधिकारीको निर्देशनमा बनेको चलचित्र ‘लेक साइड’ मा जीवन लुइँटेल र नीता ढुंगाना मुख्य भूमिका रहेका छन् । सुन्दर नगरि पोखराको पर्यटक स्थल लेकसाइडमा सङ्गीतको खोजीमा दौडिने एउटा पात्रको रुपमा जीवन लुइँटेल चलचित्रमा देखा पर्नेछन । जसको सपनामा विश्वास गरी साथ दिनेछिन् नायिका नीता ढुंगानाले । चलचित्र ‘नोटबुक, भुलभूलैया’ र ‘धुन’ पछि जीवन र नीताले ‘लेक साइड’ चलचित्रमा चौंथौ पटक काम गरेका हुन् । यो चलचित्र आशुतोस फिल्म्स प्रोडक्सन प्रा.ली. र चन्द्रज्योती फिल्म्सको ब्यानरमा तयार भएको हो । लेक साइड चलचित्रलाई चन्द्रज्योती ढुंगाना र एण्जल ढुंगानाले निर्माण गरेका हुन् ।
त्यस्तै, चलचित्र ‘लेक साइड’ सँग एकसाथ प्रदर्शन सुरु गरेको चलचित्र ‘डाइङ क्यान्डल’ लाई नरेश केसीले निर्देशन गरेका हुन । भाइको हेरचाहमा दिदीले गर्ने योगदान चलचित्रको मुख्य कथा हो । मुख्य चरित्रमा महिला पात्र सिर्जना सुब्बा र लाक्पा सिङ्गे तामाङ छन् । सौगात मल्ल र अर्पण थापाले चलचित्रमा अभिनय गरेका छन् । उत्तम केसी, रविन आचार्य र केसी निर्मित चलचित्रमा डेल सम्नरको संगीत छ ।