केही बर्षयता चलचित्रको पर्दामा भन्दा बढी सामाजिक कार्यतर्फ अग्रसर नायक राजेश हमाल शुक्रबार गोरखाको दुर्गम ठाउँ गोहोरे पुग्दा त्यहाँका स्थानियहरुले उनलाई भव्य स्वागत गरे । अनुहार पुरिने माला र स्थानियहरुको न्यायो स्वागतले निकै उत्साहित देखिएका हमाल घाँसी नेपालले निर्माण गरेको विद्यालय उद्घाटन र हस्तान्तरण कार्यक्रममा सहभागी हुनका लागि काठमाडौंबाट गोहोर पुगेका थिए । घाँसी नेपालका अभियान्त रहेका हमालले त्यहाँ पुगेर विद्यालय उद्घाटन र हस्तान्तरण मात्र गरेनन् स्थानियहरुलाई मनोरञ्जन दिनका लागि आफ्ना केही फिल्मी डाइलगहरु पनि सुनाए । उनले “चलचित्र हेर्नु हुन्छ कि हुन्न” भन्दै आफु अभिनित चलचित्रका डाइलगहरु वजनदार आवाजमा सुनाउँदा स्थानियहरुले ताली बजाउँदै हमाललाई साथमा साथ दिएका थिए । हमाल जब “साथीहरुका लागि यो हात सलाम, दुश्मनहरुका लागि यो हात फलाम” भन्दै गोरखाको गोहोरमा गज्रदा स्थानियहरुले “हो हो” भन्दै तालीले साथ दिए ।
जनकल्याण मा.वीको उद्घाटन र हस्तान्तरण कार्यक्रममा झण्डै ३ घण्टा विताएका नायक हमालले “तेरो लागि साक्ष्यात मृत्यु शंकर हुँ म”, “सज्जनका लागि नायक दुर्जनका लागि खलनायक, दुश्मनको नाम रामनाम सत्य छ अन्यायमा न्याय दिन राजेश दाई आउनेछ” भन्दा स्थानियहरुले “राजेश हमाल हाई हाई” भन्दै नारा लगाए । हमाललाई हेर्नका लागि सयौंको भिड लागेको थियो भने सेल्फी खिच्नेहरुको भिड छिचोल्न मात्र हमाललाई घण्टा वितेको थियो । घाँसी नेपालले हमाललाई मानार्थ सदस्यता प्रदान गरिसकेको छ ।