गएको बर्ष आर्यन सिग्देलको जोडी बनेर ‘क्लासिक’ मा देखिएकी नम्रताको यस बर्ष कुनै चलचित्र हलमा लागेका छैनन् । ‘क्लासिक’ बाट यस बर्ष आधा दर्जन अवार्ड आफ्नो पोल्टामा पारेकी नम्रताको यही बर्षको चैत २५ गते ‘पर्व’ चलचित्र प्रदर्शनमा आउँदैछ । यो चलचित्रको हालैमा छायाँकन सकिएको छ । नम्रताका अलवा कोशिश क्षेत्री, माला लिम्बु, जेबिका कार्की लगायतका कलाकारहरुको अभिनय रहेको यो चलचित्रको छायाँकन सकिएसँगै निर्माणपक्षले केहि तश्वीरहरु पनि सार्वजनिक गरेको छ । चलचित्रको सेटमा खिचिएको प्राप्त तश्वीरमा नम्रतालाई फरक रुपमा देख्न सकिन्छ । एक तश्वीरमा उनी नायक कोशिश क्षेत्रीसँग रोमान्टिक मूडमा देखिएकी छिन् भने अर्को तश्वीरमा नम्रताको हातमा चक्का देखिएको छ र उनलाई कोशिशले हातमा समातेर रोक्ने प्रयास गरिरहेका छन् । त्यस्तै, तेस्रो तश्वीरमा भने नम्रताको मिठो मुस्कानलाई क्यामेरामा कैद गरिएको छ । कुनै एक पर्वमा घटेको घटना र त्यसपछि उत्पन्न भएको घटनाक्रमलाई सस्पेन्स शैलीमा निर्माण गरिएको चलचित्र ‘पर्व’ को छायांकन ४० दिनमा सकिएको निर्माणपक्षले बताएको छ । अब एक गीतको केहि अंश मात्र खिच्न बाँकी रहेको निर्देशक राउतले बताए । अहिले यो चलचित्रको आइटम गीत ‘काले दाई’ ले बजार पिटिरहेको छ । चलचित्रका निर्देशक दिनेश राउतले एउटा रोचक कथामा दर्शकले पूर्ण रुपमा बाँध्ने गरि चलचित्र बनाएको दाबी गरे । सुवास गिरी र निकिता पौडेलको यसमा लगानी छ । कोशिश क्षेत्रीको कथा, किरण माइकलको पटकथा तथा संवाद, राजेश श्रेष्ठको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन, हिमाल केसीको एक्सन, कविराज गहतराजको कोरियोग्राफी यो चलचित्रमा रहेको छ ।