चलचित्र निर्माणको लामो अनुभव बटुलिसकेका निर्माता रोज राणा अहिले निर्देशक भएर चलचित्र ‘मेरो पैसा खोई ?’ निर्देशन गरिरहेका छन् । हुनत, यसअघि यो चलचित्र उनले निर्देशन गर्ने कुनै तयारी थिएन तर ‘मेरो पैसा खोई ?’ निर्देशन गरिरहेका बलीउड निर्देशक विवेक शर्माले १६ दिनसम्म खिचिएको सबै फुटेज डिलिट गरेर भारत भागेपछि रोज आफैले एक्कासी यो चलचित्रको निर्देशनको जिम्मेवारी सम्हालेका हुन । यसअघि रोजले विराज भट्ट स्टरर मूभी ‘जय परशुराम’ निर्देशन र निर्माण गरेका थिए । हाल भकुण्डेबेशीमा छायाँकन भइरहेको यो चलचित्रमा सौगात मल्ल, बर्षा राउत, छुल्ठिम गुरुङ, सागर तिवारी, सम्पन्न श्रेष्ठ, कमलमणी नेपाल, बुद्धी तामाङ, प्रमोद अग्रहरी र रविन तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
सोमबार भकुण्डेबेशीमा पत्रकारहरुसँग कुरा गर्दै निर्माता तथा निर्देशक रोज राणाले चलचित्र ‘मेरो पैसा खोई ?’ कमेडी चलचित्र भएको बताए । उनका अनुसार, चलचित्रमा प्रत्येक कलाकारहरुले पैसाको मात्र कुरा गर्नेछन् ।
उनले भने, ‘बलीउड निर्देशक विवेक शर्माले सेट छोडेर गएपछि हामीले नयाँ स्क्रिप्टमा मेरो पैसा खोई ? निर्माण गरिरहेका छौं । यो कथा धेरै अगाडी मौनता श्रेष्ठले तयार गर्नु भएको थियो । अहिले आएर चलचित्रको नामसँग कथावस्तु पनि मिल्यो र हामीले छायाँकन अगाडी बढाएका हौं ।’ चलचित्रका कलाकारहरु ‘मेरो पैसा खोई’ को सुटिङ फेरि गर्नु परेपनि उत्साहित देखिन्थे । नायिका बर्षा राउत भन्छिन्, ‘चलचित्र साइन गर्नु अगाडी जसरी म उत्साहित थिएँ कि बलीउड निर्देशकले निर्देशन गर्न लागेको चलचित्रमा काम गर्दैछु भनेर अहिले उहाँले सेट छोडेर गएपनि कुनै दुख लागेको छैन । नयाँ स्क्रिप्टमा अहिले काम गरिरहेका छौं र चलचित्र राम्रो बन्छ भन्नेमा म ढुक्क छु ।’ ५ दिन अझै भकुण्डेबेशीमा छायाँकन गरेपछि चलचित्र ‘मेरो पैसा खोई ?’ को बाँकी छायाँकन काठमाडौं गर्ने निर्देशक रोज राणाले बताए । चन्द्र पन्तको द्धन्द्ध निर्देशन रहने यो चलचित्रमा बसन्त सापकोटाको संगीत रहेको छ ।
तश्वीर : कमल प्रसाई