केही बर्षको अन्तरालपछि निर्देशक शोभित बस्नेतले चलचित्र निर्देशनमा कमब्याक गरेका छन् । शोभितले निर्देशन गरेको चलचित्र ‘जाउँ हिँड पोखरा’ गएको बर्ष रिलिज भएपनि उनले यो चलचित्र बर्षौ पहिले निर्देशन गरेका थिए । यो चलचित्रमा रेखा र जीवनको मुख्य भूमिका थियो । थुप्रै सफल चलचित्रहरु दर्शकमाझ पस्किसकेका निर्देशक शोभित बस्नेतलले आफ्नै छोरा नायक सलोन बस्नेतलाई मुख्य भूमिकामा लिँदै चलचित्र ‘बाबु कान्छा’ निर्देशन र निर्माण गर्ने भएका छन् । सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण हुने यो चलचित्रका लागि हाल नायकमा सलोन फाइनल भएका छन् भने नायिकाको टंगो केही दिन भित्रै लाग्ने शोभितले जानकारी दिए । हाल प्रि-प्रोडक्शनको काम भईरहेको यो चलचित्रको गीत रेकडिङ सुरु भएको छ । संगीतकार टंक बुढाथोकीको संगीतमा गायक कमल खत्रीले ‘छाई सक्यौ आँखामा तिमी’ बोलको गीतमा स्वर दिएका छन् । नेपाल र दुबईमा खिचिने यो चलचित्रको छायाँकन चैतको अन्तिम साताबाट सुरु हुने बताइएको छ ।