दर्जनौं नेपाली चलचित्रमा जीवन्त अभिनय गरिसकेका कलाकार दीपक क्षेत्री अहिले बोल्न सक्दैनन् तर उनले आफ्नो बोली गुमाएपनि चलचित्र अभिनयबाट भने टाढा बसेका छैनन् । स्वर नलीमा मासु पलाएका कारण स्वर गुमाएका दीपकको स्वर फिर्ता गर्न हाल छायाँकनरत चलचित्र ‘राज्जा रानी’ ले आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ । यो चलचित्रमा दीपक क्षेत्रीको महत्वपूर्ण भूमिका रहेको छ । बिहिबार साँझ दीपक क्षेत्रीको जन्मदिन मनाउने क्रममा चलचित्र ‘राज्जा रानी’ निर्माता एमके पौडेलले १ लाख ११ हजार १ सय ११ रुपैयाँ बैंक खाता खोल्ने घोषणासँगै क्षेत्रीको स्वास्थ्य उपचारार्थ आर्थिक संकलन अभियान सुरु भएको हो ।
यस्तै, ‘राज्जा रानी’ की अभिनेत्री केकी अधिकारी र नायक नाजिर हुसेनले क्षेत्रीको जन्मदिनको पार्टीमा क्रमश: २५/२५ हजार रुपैयाँ सहयोगको घोषणा गरे भने ‘राज्जा रानी’ का निर्देशक यम थापा र छायांकार पुरुषोत्तम प्रधानले १०/१० हजार, मेकअपम्यान सरल बुढाथोकी र भान्छा सम्हाल्दै आएका हरि थापाले ५र५ हजार दिने घोषणा गरेका छन्। क्षेत्रीको उपचारका लागि राज्जा रानी टिमबाटै अहिलेसम्म २ लाख २१ हजार संकलन निधो भएको छ। आफ्नो घाँटीको शल्यक्रियाका लागि झण्डै ५ लाख खर्च लाग्ने कलाकार क्षेत्रीले बताए । उनी आफ्नो करियरमै पहिलो पटक छायांकन सेटमा जन्मदिन मनाउँदा निकै खुसी देखिन्थे ।
उनको महत्वपूर्ण भूमिका रहेको चलचित्र ‘सेतो सूर्य’ हालसालै प्रदर्शनमा आएको थियो भने चलचित्र ‘झोला’ मा उनले नायिका गरिमा पन्तका श्रीमानको भूमिका प्ले गरेका थिए । अहिले यो चलचित्रको नेपालगंजको रनियापुर, बानियाँगाउँ, नेपालगंजबजार, जमुनियालगायतका स्थानमा छायाँकन भैरहेको छ ।