सन्थाल जातीको बिषयमा निर्माण भएको चलचित्र ‘बोनोदल’ ले भारतको झारखण्डमा सम्पन्न भएको विशेष फिल्म फेस्टिभलमा पाँच सय ६० चलचित्रहरुमा उत्कृष्ट १० चलचित्रमा आफुलाई सहभागी गराएको छ । सन्थालको बाहुल्यत रहेको झापाको कल्टु गाउँमा छायांकन गरिएको चलचित्र ‘बोनोदल’ हेरेपछी फेस्टिभलका निर्णायकहरुले निर्देशकसहित चलचित्रको तारिफ गरेका थिए । चलचित्र उत्कृष्ट १० मा सहभागी भएलगत्तै चलचित्रका निर्देशक किरण खतिवडाले आफुले पाएको यो हौसलाले अझै थप जोस र जागर थपेको बताए ।
उनले भने, ‘मैले पाएको यो सफलताले मेरो मात्र हैन देशको नाम पनि मैले विश्वमा चिनाउने मौका पाएको छु ।’ झारखण्डको यो फिल्म फेस्टिभल पनि अन्तराष्ट्र्रियस्तरको भएको उनले बताए।
क्षेत्रिय चलचित्र र म्यूजिक भिडियोको अनुभव खतिवडाले यसमा उतारेका छन । भारत पलायन हुँदै गएका यो समुदायको संरक्षणका लागि चलचित्र बनाएको खतीवडाले बताए । सुनील हस्दा र कविता बास्केको मुख्य भूमिका रहेको चलचित्रलाई जोना किस्कु र देवान टुडुले सन्थाली भाषामा अनुवाद गरेका हुन् । सन्थाल समुदायका सांसद मोहन टुडु, देवान टुडु, राजन बास्के, निस्पक्टर मुर्मु, बलराम हेमरम, रिता सोरेन मिना टुडु लगायतको समेत अभिनय बोनोदलमा रहेको छ